काठमाडाैं । सरकारले ढुंगागिट्टी र क्रसर उद्योग सञ्चालन गर्न दिने नीति यस वर्षको बजेटमा उल्लेख गर्नुअघि नै दुई महिनायता रौतहटस्थित वाग्मती नदीमा अवैध रूपमा क्रसर उद्योग सञ्चालन भइरहेको र सामाजिक सञ्जालमा विरोध हुन थालेपछि सञ्चालित आठवटा एक्जाभेटरलाई जिल्ला प्रशासनले नियन्त्रणमा लिएको छ। गढीमाई नगरपालिकाअन्तर्गत पर्ने यस क्षेत्रमा स्थानीयको गुनासो क्रसर सञ्चालकले नसुनेपछि उनीहरूविरुद्ध सामाजिक सञ्जालमा व्यापक विरोध हुन थालेको र स्थानीय पत्रकारहरूको समूह नै क्रसर सञ्चालन स्थलमा पुगेपछि स्थानीय प्रशासनले आठवटा एक्जाभेटर र सात चालकलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाहले वाग्मती नदीमा अवैध उत्खनन भइरहेको जानकारी आउनासाथ प्रहरी परिचालन गरिएको र आठवटा एक्जाभेटरका साथै सात चालकलाई नियन्त्रणमा लिएको बताए। अवैध गिटी उत्खनन तथा भण्डारणको विषयमा थप अनुसन्धान गरिने एसपी शाहको भनाइ छ।
प्रतिमहिना ३० लाख रूपैयाँ नगरपालिकाको खातामा बुझाउनुपर्ने थियो तर गत मंसिरदेखि वाग्मती नदीको ढुंगा, गिट्टी र बालुवा उत्खनन गरिरहेको कन्स्ट्रक्सनले अहिलेसम्म एक महिनाको अमानतबापतको ३० लाख रूपैयाँ मात्र नगरपालिकालाई बुझाएको छ। नगरपालिकाका पदाधिकारीको मिलेमतोमा ढुंगा र गिट्टी झिक्न नसकिएको तथा निषेधाज्ञाका कारण समस्या भएको बताउने र नगरपालिकालाई तिर्नुपर्ने सम्पूर्ण रकम माफ गराउने दाउमा कन्स्ट्रक्सन रहेको स्थानीयको आशंका छ। टोकारका स्थानीय उमेश राय यादवले वडाध्यक्ष राम विनय राय यादवको संलग्नतामा वाग्मती खोलामा व्यापक दोहन भइरहेको आरोप लगाएका छन्। वडाध्यक्ष यादवले आफ्नो एक्जाभेटर नै लगाएर गिट्टी र ढुंगा झिक्ने गरेको आरोप रहेको छ। वाग्मती खोलाबाट निरन्तर गिट्टी र ढुंगा दर्जनौं एक्जाभेटर लगाएर झिक्न थालेपछि गाउँ नै खतरामा परेको स्थानीयको भनाइ छ। नागरिक दैनिकबाट ।
Add Comment