असार लाग्न लागेपछि स्थानीय तह डोजरे विकासको स्वाङ पार्दै

काठमाडाैं । नेपालमा बजेट त्यसै फ्रिज भएर जाने अवस्था हरेक वर्ष रहने गरे जस्तै यो वर्ष पनि त्यस्तै भएको छ । आर्थिक वर्षको अन्त्यमा आएर ठूलो रकम खर्च गर्ने प्रवृत्ति यो वर्ष पनि रोकिएको छैन । स्थानीय तहहरू वर्षभरि काम नगरी मनसुन भित्रने बेला असारभित्रमा बजेट सक्न भ्याइनभ्याइ गरिरहेका छन्। त्यस्तै कथा देखिएको छ अछाम मंगलसेनमा ।  विकास निर्माणका लागि छुट्याइएको बजेट फ्रिज हुनबाट जोगाउन जनप्रतिनिधि, कर्मचारी र ठेकेदारले विकास निर्माणका काममा यही बेला चासो देखाउँदै धमाधम विकास निर्माणको स्वाङ पारिरहेका छन्।

स्थानीय तहले गरेको असारे विकास पहिले केन्द्र सरकारले हतारमा बजेट सक्न गरेको टालटुले  विकासभन्दा फरक  देखिएको छैन । असार नजिकिँदै गर्दा गाउँ गाँउमा योजनाका काम तीव्र गतिमा अघि बढिरहेको स्थानीयहरू गुनासो गर्छन् । कतिपय स्थानीय तहका जनप्रतिनीधि डोजरे धन्दामा लागिपरेका छन् ।  यस्तो टालटुले विकासले मुलुकको अर्थतन्त्रको हालत बयान गर्न काफी हुन्छ । यही असारे विकास र टालटुले कामले आर्थिक अनियमिततासमेत  बढाइरहेको छ । केन्द्र सरकार यसमा चुक्क नबोल्नु अर्को दुखको कुरा हो ।  स्थानीय तहले सबै वडालाई यातायातको सुविधा पुर्‍याउने उद्देश्य लिएका छन् । तर, असार लाग्नै लाग्दा जथाभावी सडक खन्ने कामले गर्दा बाढीपहिरोको जोखिम  बढ्ने र त्यसले मुलुकमा जनधनको क्षति हुने कुरामा स्थानीय तह हेक्का राख्दैनन् ।