केन्द्रीय समिति थप गरिरहने हो भने नेपाली कांग्रेस नै रहन्न : शेखर कोइराला

काठमाडाैं । नेपाली कांग्रेसका नेता एवं केन्द्रीय सदस्य डा शेखर कोइरालाले चार वर्षदेखि महाधिवेशन गर्न नसक्ने अनि आफ्नो इन्ट्रेस्टका लागि ६ महिना वा १ वर्ष केन्द्रीय समिति थप गर्ने हो भने नेपाली कांग्रेस नै नरहने बताएका छन् । उनले यस्तो कार्यले  सबैमा नैराश्य उत्पन्न हुने पनि उनले बताए । साथै उनले सभापति शेरबहादुर देउवाले पार्टीका अन्य ३ वटा खेमाका थपेर केन्द्रीय समितिको पुनर्गठन गरेमा आफूलाई स्वीकार्य नहुने धारणा प्रकट गरेका छन्। ‘साझा मञ्च, साझा सवाल’ले शनिवार अपराह्न गरेको भर्चुअल कार्यक्रममा नेता कोइरालाले सभापति देउवाले महाधिवेशन सार्न वा टार्नका लागि गर्ने कुनै पनि क्रियाकलापको समर्थन गर्न नसक्ने बताएका हुन्। उनले महाधिवेशन पर सार्ने उद्देश्यले कसैलाई महामन्त्री, सहमहामन्त्री, उपसभापति दिएर भागवण्डा गरे नेपाली कांग्रेस शत प्रतिशत कमजोर हुने चेतावनी दिए। कोइरालाले भने, ‘यसो गरियो भने यो टीके प्रथा हुन्छ। त्यही टीके प्रथाका कारण आज तरुण दल र नेविसंघ कहाँ छन् थाहा छैन। दुवै भ्रातृ संगठन चलायमान छैनन्। नेतृत्वले आफ्ना मानिसलाई सेट गर्न टीके प्रथा लाद्नु हुँदैन। नेतृत्वको चुनाव हुनै पर्छ।’ उनले थपे, ‘चार वर्षअघिदेखि पार्टीको महाधिवेशनको माग भएको हो,

कोइरालाले अब भदौ महिनामा विशेष महाधिवेशन पनि हुन नसक्ने जिकिर गरे। उनले विधानअनुसार विशेष महाधिवेशन गर्न ३ महिनाको समय दिनुपर्ने हुँदा अब त्यो समय पनि टरिसकेको तर्क राखे। कोइराला भन्छन्, ‘संविधानले पार्टीको महाधिवेशन भनेको छैन। राजनीतिक दलको निर्वाचन भनेको छ। त्यसैले आगामी भदौ महिनामा हामीले नयाँ मोडालिटीअनुसार जिल्ला जिल्लामा बुथ राखेर केन्द्रीय समितिको निर्वाचन गर्न सक्छौँ। क्रियाशिलको विवाद टुंगिएका जिल्लामा १४ औँ महाधिवेशनकै क्रियाशिलबाट र नटुंगिएका जिल्लामा १३ औँ महाधिवेशनका क्रियाशिलबाट पालिका, जिल्ला, प्रदेश र क्षेत्रीय प्रतिनिधिको निर्वाचन गर्न सक्छौँ।’

उनले पार्टीको महाधिवेशन गर्न तत्काल नसकिए पनि संवैधानिक व्यवस्थाअनुसारको नेतृत्वको निर्वाचन भने सम्भव भएको चर्चा गरे। उनले कोरोना कहर सकिएपछि र सबैले खोप लगाइसकेपछि विशेष महाधिवेशन बोलाएर पार्टीका नीति र कार्यक्रम पारित गर्नुपर्ने सुझाव दिए। केन्द्रीय सदस्य नेता कोइरालाले नेपाली कांग्रेस ओली नेतृत्वको सरकारमा जान नहुने विचार व्यक्त गरे। उनले अहिले पनि पार्टीका केही नेताहरू ओली नेतृत्वको सरकारमा जान तयार भएको हिसाबले कुरा गरिरहेको उल्लेख गर्दै यही सरकारमा जाने हो भने ओलीले ३ वर्षसम्म गरेका सारा दुष्कर्मको जिम्मेवारी लिनुपर्ने उल्लेख गरे। कोइरालाले प्रधानमन्त्री केपी ओलीलाई अधिनायकवादी र स्वेच्छाचारी बनाउन नेपाली कांग्रेसले नै सहयोग गरेको विचार दोहोर्‍याए।