कांग्रेस सभापति देउवा कमजोर सावित हुँदै

काठमाडौं । एमालेका युवा नेताहरू एमाले एकताका लागि कम्मर कसेर लागेका कारण कांग्रेस सभापति देउवा कमजोर सावित भइरहेका छन् । नेपाल कम्युनिष्ट पार्टी एमालेभित्र युवा नेताहरू एकताका लागि डटिरहेकाे कारण यस्तो देखिएको हो ।  विकसित पछिल्लो घटनाक्रमले प्रम ओलीविरुद्धको विपक्षी गठबन्धन कमजोर बन्ने अवस्था देखिएको छ । यसैबीच कांग्रेस सभापति देउवाले एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग भेटघाट गरेर गठबन्धन कायमै राख्ने प्रयास गरेका छन् । ओलीविरुद्ध बनेको विपक्षी दलहरूको गठबन्धन बलियो बनाउने रणनीतिमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा लागेका छन्। उता

नेपाल समूहले वाग्मती प्रदेश र प्रदेश १ मा संस्थापन पक्षलाई एमाले विवाद निरूपण र पार्टी एकताका लागि भन्दै सहयोग गरेपछि गठबन्धन कमजोर भएको आशंका देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गरेका छन् । त्यसैले सोमबार साँझ उनीहरू नेपाल निवास कोटेश्वरमा पुगेका थिए। उनीहरूबीच करिब दुई घन्टा कुराकानी भएको थियो। सो कुराकानीका क्रममा तीन पूर्वप्रधानमन्त्री देउवा, दाहाल र नेपालले सरकारलाई अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने काम नगर्न ध्यानाकर्षण गराएका छन् । तीन प्रधानमन्त्रीका साथमा कांग्रेस नेता पूर्णबहादुर खड्का पनि सहभागी थिए।  यसअघि तीन प्रधानमन्त्रीले यो गठबन्धनलाई आगामी निर्वाचनसम्मै लैजाने सहमति गरेका थिए ।

एमालेमा देखिएको पछिल्लो घटनाक्रममा त्यो सम्भव हुन नसक्ने आकलन गर्दै देउवा र दाहाल नेपाल निवास पुगेको स्रोतको दाबी छ । कर्णाली प्रदेशका सांसद प्रकाश ज्वालासहितको निवेदनमा सर्वोच्च अदालतले गरेको निर्णयले एमालेको महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिएपछि ओली र नेपाल दुवैलाई पार्टी एकताका लागि दबाब सिर्जना भएको छ । त्यही क्रममा तीन प्रधानमन्त्रीको छलफलले वर्तमान गठबन्धन एकले अर्कोलाई उपयोग गर्न नभई राष्ट्र, गणतन्त्र, संविधान र लोकतन्त्रको रक्षा एवं जनताको सुविधा र हितलाई अभिवृद्धि गर्न बनेको हो भन्ने कुरालाई पुनः स्पष्ट गरेको स्रोतले जनाएको छ। त्यस्तै बैठकले आपसी सम्बन्धबारे पनि छलफल गरेको छ। सोमबारको बैठकले आपसमा अविश्वास उत्पन्न गराउने कुराबाट सजग रहने प्रतिबद्धता जनाएको स्रोतले जानकारी दियो ।

गण्डकी, वाग्मती र प्रदेश १ मा नेपाल पक्षका सांसदहरूले पार्टी एकताका लागि भन्दै ओली पक्षलाई निःसर्त समर्थन गरेपछि ओली पक्ष पार्टी एकताका लागि दबाबमा छ । सोमबार साँझ ओली समूहका नेताहरू महासचिव ईश्वर पोखरेल, सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञावालीलगायतले नेपाल पक्षलाई समेट्ने विषयमा छलफलसमेत गरेका छन् । उता नेपाल पक्षका नेताहरू घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, योगेश भट्टराई पनि आन्तरिक छलफलमा जुटेका बेला नेपाल निवास कोटेश्वरमा तीन प्रधानमन्त्री बसेर अदालतमा रहेको विचराधीन मुद्दालाई प्रभावित नपार्न ओलीलाई आग्रह गरेका हुन् । नागरिक दैनिकमा खबर छ ।