नदी तटका बासिन्दा रातभर निदाउँदैनन्

काठमाडाैं । मनसुन सुरू भएसँगै नेपालमा लगातार वर्षा भइरहेकाे छ । यसले गर्दा नदी तटका वासिन्दा ठूलो जोखिममा रहेका छन् ।  यसपटक मनसुन सक्रिय भएसँगै सरकारले उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरे पनि तयारी भने जिरोकै हारहारीमा रहेको देख्न पाइयो  ।  यसपटक पानी धेरै पर्ने कुरा पहिले नै जानकारी थियो तै पनि हाम्रो सरकारको फितलोपनले धेरै मान्छेको ज्यान जान सक्ने खतरा जीवित नै छ ।  दाङ पनि बाढी, पहिरो र डुबान हुने जिल्लामा पर्दछ। जिल्लाको देउखुरी क्षेत्र डुबान र बाढीको जोखिम  भएको क्षेत्रमा पर्दछ भने, पहाडी क्षेत्रमा बाढीसँगै पहिरोको पनि जोखिम छ। गत वर्ष पहिरोमा परेर दाङमा २ जनाको मृत्यु भएको थियो, भने अविरल वर्षाका कारण धेरै घरहरू भत्किँदा करोडौँ क्षति भएको थियो। यस पटक गत वर्षभन्दा धेरै पानी पर्ने जल तथा मौसम पूर्वानुमान शाखाले जनाएपछि जिल्लाका स्थानीयले विपदबाट बच्न तयारी गरेका बताएका छन्।

तुलसीपुर उपमहानगरपालिकाका पनि धेरै वडा जोखिममा रहेका उपमहानगरका विपद् व्यवस्थापन समिति संयोजक नवराज लामिछानेले बताए। उपमहानगरपालिकाले बाढी पहिरोबाट बच्न तयारी गरिसकेको समेत बताए। जोखिम क्षेत्रका नागरिकहरूलाई सजन रहन आग्रह गरिएको र विपद्सम्बन्धी सूचना गरिएको उनले बताए। विपद् भइहाल्यो भने पनि त्यसको लागि राहत र उद्धारका लागि पनि टोलीहरू तयार रहेका उनले बताए। उपमहानगरको उत्तर वडाहरूमा पहिरोको जोखिम रहेका र दक्षिणका वडाहरूमा बाढी डुबानको जोखिम रहेको उनको भनाइ छ।

तुलसीपुरका १९ वटा वडाहरू मध्ये  वडा- ११,१२,१३ वडाहरू बाढीको जोखिममा रहेका छ, भने ३,४,१९ नम्बरका वडाहरू पहिरोको जोखिम रहेको समेत संयोजक लामिछानेले बताए । तुलसीपुर उपमहानगरले मात्र नभई जिल्लाका १० वटै पालिकाले विपदबाट बच्न तयारी रहेका छन्। घोराही उपमहानगरपालिकाले पनि पूर्वतयारीका साथ बसिरहेको उपमहानगरका प्रवक्ता भरतमणि आर्यालले बताए।  घोराही उपमहानगरमा बबई नदीलगायत खहरे खोलाहरूको जोखिम रहेको समेत उनले बताए। विपद्  व्यवस्थापन शाखा तयारी अवस्थामा रहेको भन्दै बबई नदीले जमिन कटान गरी बस्तीलाई जोखिम गर्ने उनले बताए। अहिले सबै क्षेत्रसँग समन्वय गरेर तयारी रहेको समेत उनले जनाए।

स्थानीय सरकारमा नभई प्रशासन पनि तयारी अवस्थामा रहेको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ। जिल्लामा विशेष गरी २ वटा नदीहरूको जोखिम रहेको र अन्य खोलाहरूको पनि जोखिम रहेको दाङका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए। प्रशासनले मनसुन प्रतिकार्य योजना बनाएको समेत उनले बताए। त्यस्तै विपद्को लागि टिम तयार रहेको र कसले के काम गर्ने भन्ने विषयमा स्पष्ट खाका तयार गरेको समेत उनले बताए । त्यसैगरी विपदमा आवश्यक सामग्री पनि कुन निकायसँग कति र कस्ता छन् भन्नेबारे पनि अभिलेख गरेको र जुन जुन निकायमा छन्। उनीहरूले नै प्रयोग गर्ने व्यवस्था गरिएको उनले बताए।