खोप लगाएमा कुखुरो उपहार

एजेन्सी ।  इन्डोनेसियाको केही जिल्लामा स्थानीयले कोरोनाको खोप लगाउन मान्दैनन् । खोप लगाउन नमान्ने मान्छेलाई  प्रेरित गर्न प्रशाशनले गजबको जुक्ति लगाएको छ ।  त्यो हो जीवित कुखुरा उपहार दिने । यसो गरेपछि सर्वसाधारण खोपप्रति आकर्षित भएको प्रशासनले महसुस गरेको छ ।

स्थानीय  प्रशासनहरूले कोरोनाविरुद्धको खोप लगाउने मानिसलाई जीवित कुखुरो नै उपहारमा भेट चढाउने गरेको यो गजबको घटना भएको छ ।   ४५ वर्षभन्दा माथिका मानिसलाई खोप लगाउन प्रेरित गर्न कुखुरो उपहारको योजना ल्याइएको सीएनएनले जनाएको छ। प्रहरी अधिकारी गालि अप्रियाका अनुसार यहाँका मानिसहरु खोप लगाउन आनाकानी गरिरहेका थिए । कुखुरो उपहार पाउने भएपछि मानिसहरू  आकर्षित भएका छन् ।

सूचना र चेतनाको कमीका कारण उनीहरुले खोप लगाउन नमानेपछि उनीहरुलाई खोप लगाउन आकर्षित गर्न कुखुरो उपहारको योजना ल्याइएको बताइएको छ । निशुल्क कुखुरा उपहारको योजना अगाडि दैनिक २५ जनाले मात्र खोप लगाउँथे। यतिबेला भने त्यहाँका दैनिक २ सयभन्दा बढी मानिसले खोप लगाउन थालेका छन्।