महानगरको मेयर भएकाले दलको आस्थाभन्दा माथि उठेर काम गरें : मेयर शाक्य

काठमाडौं महानगरपालिकालको नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको दिन सभामा सम्बोधन गर्दै महानगरका मेयर विद्यासुन्दर शाक्यले आफू महानगरवासी सबैको मेयर भएकाले दलको आस्थाभन्दा माथि उठेर काम गरेको बताएका छन् । उनले आफूले दलको हितभन्दा महानगरको हितलाई सर्वोपरि ठानेकाले नै सर्वसम्मतरूपमा नीति तथा कार्यक्रम पारित भएको पनि उनले बताएका छन् ।

असार ३ गते काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नवौँ नगरसभाको पहिलो वैठकमा नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए। तर, उपमेयरसहित काँग्रेस निकटका जनप्रतिनिधिले नीति–तथा कार्यक्रमबारे केही अध्ययन गर्न दुई दिनको समय माग गरेपछि प्रमुख शाक्यले छलफल दुई दिनका लागि समय दिएका थिए । त्यसले रिजल्ट पनि राम्रै दियो । सबै कुरा अध्ययन गरेपछि सबै दलले सर्वसम्मतरूपमा सो कार्यक्रम स्वीकृत गरे ।

आजको छलफलमा उपमेयरसहितका काँग्रेस निकट वडाध्यक्षले नीति–तथा कार्यक्रममा समावेश गर्नुपर्ने केही बुँदा प्रमुख शाक्यलाई बुझाएका थिए । प्रमुख शाक्यले उनीहरुको सुझाव ग्रहण गर्दै बैठक सुरु गरेका थिए ।शाक्यले सुझाव ग्रहण गर्दै उपमेयरसहित सबै वडाध्यक्षलाई पार्टीको प्रतिनिधि भन्दा पनि जनप्रतिनिधिका हैसियतमा काम गर्न सुझाव दिए। ‘हाम्रो कार्यकालको अन्तिम नीति, कार्यक्रम तथा बजेट ल्याउँदैछौँ । विगतका वर्षमा सबै निर्णयहरु सर्वसहतिमा भए,’ शाक्यले भने, ‘म तपाईँहरुलाई आग्रह गर्न चाहन्छु ।

कुनै दलको टिकट लिएर हामी निर्वाचनमा उम्मेदवार बन्यौँ होला । तर, निर्वाचन जितेपछि हामी जनप्रतिनिधि हौँ । म नेकपा एमालेका तर्फबाट उम्मेदवार थिएँ । त्यो भनेको म एमाले वा मलाई मतदान गर्ने मतदाताको मात्रै मेयर होइन । निर्वाचित भएपछि म काठमाडौँ महानगरको मेयर हुँ,उपमेयर, वडाध्यक्ष र सदस्यहरु पनि कुनै दलको होइन तपाईँहरु जनप्रतिनिधि हो । मैले मेयर निर्वाचित भएर आएपछि दल हेरेर उपमेयर, वडाध्यक्ष र सदस्यहरुलाई उपेक्षा गरिन, गर्दिन । त्यसैले तपाईँहरु पनि दलको भन्दा जनताको हितलाई माथि राखेर काम गर्नुहोला म पनि त्यहि गर्छु र गरिरहेको छु ।’

शाक्यले आन्तरिक समस्यालाई छलफलका माध्ययमबाट हल गर्न सकिने भन्दै अनावश्यक रुपमा मिडियावाजी नगर्न पनि सुझाव दिए । ‘विगतमा सबैको उपस्थितिमा छलफल गरेर सर्वसम्मत रुपमा नीति–तथा कार्यक्रम पारित गर्ने गरेको परम्परा छ । सुरुको बैठकमा नेपाली काँग्रेसका तर्फबाट उपमेयरलगायत धेरैजसो साथीहरु अनुपस्थित रहे,’ शाक्यले भने, ‘मैले बरु केही दिन छलफल स्थगन गरेर भए पनि सबैको उपस्थितिमा सर्वसम्मत रुपमा नीति–तथा कार्यक्रम पारित गर्नुपर्छ भनेर दुई दिन स्थगन गरेँ । उहाँहरुले आजको बैठकमा केही सुझाव राख्नुभयो । उहाँहरुले राख्नु भएका धेरै जसो सुझाव नीति–तथा कार्यक्रममा समावेश भैसकेका छन् । केहीचाँहि सुन्दा लोकप्रिय जस्ता सुनिए पनि व्यवहारिक रुपमा कार्यान्वयन गर्न सम्भव नहुँने सुझाव छन् । सम्भव हुने सुझावलाई नीति–तथा कार्यक्रममा समावेश गर्ने छौँ ।’

प्रमुख शाक्यले नगरसभामा पेस भएको नीति तथा कार्यक्रमलाई अझ परिपक्क बनाउन उनिहरुबाट आएका सकारात्मक सुझावले गहकिलो बनाउने भन्दै नीतितथा कार्यक्रममा राजनीतिक लेप दिनु नहुने सझुाव दिए । ‘असार १० गते बजेट ल्याउनै पर्ने कानुनी बाध्यता छ,’ उनले भने, ‘नीति–तथा कार्यक्रममा त्यस्तो असहमति राख्नुपर्ने केही छैन । अझ सघन अध्ययन गरेर उहाँहरुको सझुावलाई समेत सारकात्मक रुपमा दिदैँ थप बलियो बनाएर जान्छौँ ।’

शाक्यले नीति तथा कार्यक्रममा १ सय बेडको ‘काठमाडौं महानगर विशेष अस्पताल’ स्थापना गर्ने, विद्युतीय सवारी करमा शतप्रतिशत छुट दिने, कोभिड–१९ को महामारीबाट प्रभावित करदातालाई विशेष छुट र सहुलियत दिने , महानगरवासीलाई ‘नागरिक स्वास्थ्य विमा कार्यक्रम’, ‘एक वडा एक नमूना विद्यालय कार्यक्रम’ सहरी स्वाथ्य क्लिनिकबाट विशेषज्ञ चिकित्सकसहितको निशुल्क सेवा जस्ता महत्वपूर्ण कार्यक्रम ल्याएको जानकारी पनि दिए ।