महन्थ पक्षको सांसदको बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षले पार्टीका निर्वतमान सांसदहरुको बैठक बोलाएको छ । पछिल्लो विकसित राजनीतिक परिस्थितिका विषयमा छलफल गर्न ठाकुर–महतो पक्षले बैठक बोलाएको हो । बैठक बिहीबार दिउँसो एक बजे पार्टीको बबरमहलस्थित कार्यालयमा बस्ने छ ।

पार्टी भित्र आन्तरिक विवादकाबीच ठाकुर–महतो पक्ष सरकारमा सहभागी भएको थियो । तर, मंगलबार सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेशसँगै जसपाका नवनियुक्त सबै मन्त्री पदमुक्त भएका छन् । ठाकुर पक्षीय एक नेताका अनुसार सर्वोच्च अदालतले मंगलबार दिएको अन्तरिम आदेश, प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटमा संवैधानिक इजलासमा भइरहेको बहस र पार्टीको आन्तरिक विवादबारे छलफल हुनेछ ।


त्यस्तै निवर्तमान सांसदहरूको बैठक छिटै सकिए बिहीबार नै र ढिलासम्म चले शुक्रबार कार्यकारिणी समिति सदस्यहरूलाई बैठकका लागि तयार हुन भनिएको ती नेताले बताए । कार्यकारिणी समिति बैठकमा पार्टीको आधिकारिकताबारे निर्वाचन आयोगले १५ दिनभित्र दाबी पेश गर्न भनेकोबारे छलफल हुने बताइएको छ । जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव–बाबुराम भट्टराई पक्ष प्रतिनिधिसभा विघटनविरुद्धमा उभिएको छ भने ठाकुर–महतो पक्षले त्यसलाई स्वीकार गर्दै सरकारमा नै सहभागी भएको थियो ।

जसपामा प्रतिनिधिसभा विघटनलाई समर्थन गर्ने कि बदर गर्न माग गर्ने भन्ने विषयमा विवाद छ । यादव–भट्टराई पक्ष कांग्रेस नेतृत्वको विपक्षी गठबन्धनमा सहभागी हुँदै प्रतिनिधिसभा विघटन बदरको माग गर्दै सर्वोच्च अदालतसम्म पुगेको छ ।