छुद्र भाषा बोल्ने मान्छेले के देश चलाउँछ ? : देउवा

काठमाण्डाै । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘छुद्र भाषा बोल्ने मान्छेले के देश चलाउँछ ?’ भनी प्रश्न गरेका छन् । देउवाले भनेका छन् , रेस्पेक्ट गर्न सक्ने व्यक्तिले देश बनाउँछ ? छुद्र भाषामा बोलेर केही हुँदैन । छुद्र भाषा बोल्ने मान्छेले के देश चलाउँछ ?

साथै उनले राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति पदको गरिमालाई नै समाप्त पारेको आरोप लगाएका छन् । विपक्षी गठबन्धनले सोमवार सङ्घीय संसद् भवनको लोत्से हलमा बुद्धिजीवीहरूसँग गरेको अन्तरक्रियामा बोल्दै सभापति देउवाले संविधानले दिएको राष्ट्रपतिको पदीय जिम्मेवारी र कर्तव्य पूरा नगरेर राष्ट्रपति भण्डारीले पदीय गरिमालाई नै समाप्त पारेको बताएका हुन् ।

संसद्को कुनै पनि सांसदले बहुमत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा प्रधानमन्त्री हुन सक्ने व्यवस्था संविधानले गरेको उल्लेख गर्दै उनले बहुमत पुर्‍याएर प्रस्ताव लैँजादा पनि राष्ट्रपतिले संविधानको व्यवस्थाअनुसार प्रधानमन्त्रीमा नियुक्त नगरेर ओलीको कार्यकर्ता बनेको दोहोर्याए । 

संविधानको अन्तिम व्याख्या गर्ने संस्था अदालत भएको र न्यायालयको निष्पक्षता तथा स्वतन्त्रतामा विश्वास गर्ने उल्लेख गर्दै उनले संविधानमा भएको व्यवस्थाअनुसार नै अदालतको फैसला आउनेमा आफूहरू विश्वस्त रहेको बताए । उनले अदालतले स्वतन्त्र न्यायालयको छवि कायम नै राख्नेमा आफू विश्वस्त रहेको पनि बताए ।

प्रधानमन्त्री ओलीले सोमवार राजधानीमा आयोजित सार्वजनिक कार्यक्रममा सभापति देउवालाई लोकतान्त्रिक मूल्य मान्यता छाडेर प्रचण्डपथमा हिँडेको भन्दै विपक्षी गठबन्धनमा सहभागी दलका शीर्ष नेतामाथि तिखो व्यङ्ग्य गरेका थिए ।