ओली र नेपालबीच वार्ता हुने सम्भावना न्यून

काठमाडौँ– नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको आजको बैठक मस्यौदामाथिको छलफलमा मात्रै सीमित हुने देखिएको छ।

केहीबेरअघि सिंहदरबारस्थित अर्थ मन्त्रालयमा सुरु भएको कार्यदलको बैठकमा सहमतिका लागि तयार पारिएको प्रारम्भिक मस्यौदामाथि  छलफल हुने देखिएको हो।

बैठकमा प्रवेश गर्नुभन्दा पहिले माधवकुमार नेपाल पक्षबाट कार्यदलमा रहेका रघुजी पन्तले भने, ‘आज धेरै छलफल भए मस्यौदामाथि नै छलफल हुनेछ। धेरैजसो विषयमा हामी कार्यदलका सदस्यहरु सहमत भइसकेका छौँ। तर कतिपय विषय शीर्ष नेताहरुले नै टुंग्याउनु पर्ने देखिन्छ। त्यसैले आजै सहमति हुने सम्भावना कम छ।’

उनका अनुसार आजै अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ता हुने सम्भावन न्यून छ।

बुधबार नक्सालस्थित मेरियट होटलमा भएको दुई चरणको वार्तामा अध्यक्ष ओलीले नेपाललाई आफूलाई निःशर्त सहयोग गर्न आग्रह गरेका थिए।

नेपालले भने ओलीलाई पहिलो शर्तका रुपमा तत्काल पार्टी अध्यक्ष वा प्रधानमन्त्री पद त्याग्नु पर्ने र दोस्रो शर्तका रुपमा संसद पुनःस्थापना भएको खण्डमा ओली नै पुनः प्रधानमन्त्रीको रुपमा उम्मेदवार बन्न नहुने थियो।

बुधबार सुरुमा ओली र नेपालले आफू पक्षीय दुई–दुई जनासहित वार्तामा थिए भने पछि एक्लाएक्लै वार्ता गरेका थिए। ओली र नेपालको वार्ताको वातावरण तयार पार्न कार्यदलका सदस्यले लामो प्रयास गरेका थिए।