दस दिनदेखि एकता प्रयासमा कुनै प्रगति भएको छैन

काठमाडौं ।  घनश्याम भुसालले नेकपा एमाले एकता कार्यदलमा १० दिनदेखि एकता प्रयासमा कुनै प्रगति नभएको बताएका छन्।  बुधबार एकता प्रयास सकारात्मक भएको बताइए पनि बिहीबारको छलफल निष्कर्षबिहीन भएपछि भुसालले यस्तो बताएका हुन्। बिहीबार साँझ सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बसेको बैठक बिना निष्कर्ष टुंगिएको उनको भनाइ छ। 

एमाले उपमहासचिव एवम् माधवकुमार नेपाल समूहका वार्ता टोली सदस्य भुसालले कार्यदलमा १० दिनदेखि कुनै प्रगति नभएको बताएका छन्। ‘हामीले १० दिन अगाडिदेखि खास प्रगति गरेका छैनौं’, उनले भने,  ‘अनौपचारिक छलफलपछि हामीले १० दिनअघि केही एजेन्डा तयार गरेका थियौं। अझैसम्म हामी त्यही स्थितिमा छौँ।’

अध्यक्ष केपी ओली पक्षको कार्यदलका संयोजक सुवास नेम्वाङले कार्यदलमा नियमित छलफल भए पनि प्रगति हुन नसकेको स्वीकार गरे। उनले प्रगति हुन नसके पनि शुक्रबार बिहान साढे ११ बजेपछि बस्ने बैठकले सकारात्मक निष्कर्ष निकाल्ने विश्वास व्यक्त गरेका छन्। बुधबार अध्यक्ष ओली र नेता नेपालबीच तिक्ततापूर्ण ५६ दिनपछि भेटवार्ता भएको थियो । यसका लागि एकता कार्यदल र दोस्रो पुस्ताका कतिपय नेताले निकै ठूलो मेहनत गरेका थिए। दुई नेताबीच वान टुन वान वार्ता भएको थियो । गत वैशाख ३० गते बूढानीलकण्ठमा दुई नेताबीच करिब चार घण्टा संवाद भएको थियो। 

भेटवार्तामा ठोस सहमति नभए पनि वार्ता सकारात्मक भएको दुवै पक्षका नेताले दाबी गरेको अर्को दिन पुन वार्ता निष्कर्षबिहीन बनेको छ । बुधबारको भेटवार्तामा नेपाल पक्षका कार्यदल संयोजक भीम रावल र सुरेन्द्र पाण्डे तथा संस्थापन पक्षका महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलको सहभागिता थियो।

२०७७ फागुन २३ मा एमाले र माओवादी बिउँतिएपछि भएका चार पटक मात्रै ओली र नेपालको भेटवार्ता भएको छ। फागुन २८ मा संस्थापन पक्षले एकतर्फी बैठक बसाएर केन्द्रीय कमिटीलाई भंग गरी दसौं महाधिवेशन आयोजक समिति बनाएको थियो। अध्यक्ष ओली र महासचिव ईश्वर पोखरेल मात्रै राखी अन्य सबैको पदाधिकारी खारेज गरिएको थियो। यो महाधिवेशन आयोजक समिति असार १६ गते भंग भएको छ।

त्यसपछि चैत ५ र ७ गते बोलाएको केन्द्रीय कमिटीको बैठक अगाडि चैत २ मा ओली र नेपालको धुम्बाराहीस्थित तत्कालीन पार्टी मुख्यालयमा भेटवार्ता भएको थियो। तर, यो भेटवार्ता निष्कर्षमा नपुगेपछि नेपाल पक्षले चैत ४ र ५ गते आफू पक्षीय राष्ट्रिय कार्यकर्ता भेला गरी समानान्तर गतिविधि थालेको थियो। 

२०७८ वैशाख ८ मा होटल मेरियटमा दुई नेताबीच भेटवार्ता भएको थियो। पार्टी अध्यक्ष ओलीले माधव नेपालसहित २७ जना प्रतिनिधिसभा सदस्यलाई स्पष्टीकरण सोधेको भोलिपल्ट दुई नेताबीच वार्ता भएको थियो। वैशाख ८ को वार्ताले कुनै उपलब्धि हासिल गरेको थिएन। 

करिब डेढ महिनापछि गत असार २० मा अध्यक्ष ओली र उपाध्यक्ष रावलबीच छलफल भएपछि कार्यदल बिउँतियो। त्यसपछि कार्यदल पार्टी एकतामा निरन्तर लागिरहेको छ। 

जेठ २ मा एमालेको केन्द्रीय कमिटी २०३ सदस्यीय थियो, जेठ ३ मा एमाले र माओवादी केन्द्र एकताका भएपछि ३८ थपेर २४१ सदस्यीय बन्यो। नेकपा बन्दा थपिएका ३८ र पूर्वमाओवादी केन्द्रबाट आएका रामबहादुर थापासहित २३ जनाको व्यवस्थापनमा दुवै पक्ष सहमति नजिक पुगेको बताइएको छ । 

दुई शीर्ष नेताको बैठकअघि कार्यदलमा २०७५ जेठ २ गतेको अवस्थामा पार्टी र जनसंगठनका सबै तहका कमिटीलाई पूर्ववत् अवस्थामा फर्काएर क्रियाशील बनाउन सहमति भएको थियो। उता सर्वोच्च अदालतले पनि कर्णाली प्रदेशका सांसदको पुनर्वाहलीको क्रममा पार्टीको संरचनालाई जेठ २ को अवस्था फर्काइसकेको छ। यो फैसलाले पनि कार्यदललाई सहमति नजिक पुर्‍याएको बताइएको थियो ।

नेपाल पक्ष २३ निवर्तमान सांसदले विपक्षी दलका नेता एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षरको बहस नै सकिएकाले औचित्य नहुने हुँदा फैसलापछि एकजुट भएर अगाडि बढ्नुको विकल्प नरहेकामा दुवै पक्ष सकारात्मक देखिन्छन्। संस्थापन पक्षले हस्ताक्षर फिर्ता गर्नुपर्ने र नेपाल पक्षले विघटन गतल हो भन्नुपर्ने अडान राख्दै आएका थिए। स्थायी समिति सदस्य पाण्डेले हस्ताक्षर फिर्ताको विषय गौण भएको भन्दै फैसलापछि एकजुट भएर जाने बताए। 

असार २० गते पार्टी अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलबीच वार्तापछि बिउँतिएको कार्यदलले निरन्तर एकताका लागि गृह कार्य गरिरहेको छ। कार्यदल बिउँतिनु अघि पनि दोस्रो तहका नेताहरू पार्टी एकतामा लागि निरन्तर क्रियाशील रहँदै आएका थिए।

नेताको दौडधुप बढे पनि ठोस सहमतिको खाका सार्वजनिक हुन नसक्दा अझै विवाद बाँकी नै रहेको देखिन्छ । नेता नेपालले अध्यक्ष ओलीसँगको गरेको एकल वार्तासमेत सकारात्मक नभएपछि एमाले एकता फेरि अप्ठेरोमा परेको नेताहरुले नै बताएका छन् । वार्ता टोलीका केही सदस्यले प्रगति नभएको बताउने र केहीले सकारात्मक छलफल भइरहेको सुनाउने गरेका छन् । यसले अझैपनि एकताको ठोस खाका बन्न नसकेको देखिन्छ ।