हाइटीका राष्ट्रपतिको हत्यामा अमेरिकी नागरिक पनि

बीबीसी । हैटी पुलिसले राष्ट्रपति जोभेनेल मोइसको हत्यामा संलग्न चार बन्दुकधारी अपराधी मारिएको र थप ६ जनालाई गिरफ्तार गरेको जनाएको छ । ती मध्ये एक अमेरिकी नागरिक भएको खुलासा पनि गरिएको छ । जेम्स सोलेगेसको नामले पहिचान भएका ती व्यक्ति बुधबारको हमलामा संलग्न रहेको हैटीका मन्त्री मेथिआस पिएरेले बताएका हुन् । 

तर सम्भावित अपराधीहरुहरुलाई पक्राउ गरिसकेपनि यस हत्या पछाडिका वास्तविक ‘रचनाकार’ को खोजी भने जारी रहेको बताइएको छ । अपराधीहरु उच्च प्रशिक्षण प्राप्त हमलाकारी भएको पनि बताइएको छ र उनीहरुले हैटी नागरिकहरुको सहायतामा आक्रमण गररेको बताइएको छ । राष्ट्रिय पुलिसले उनीहरुको पहिचान खुलाउने प्रयास गरिरहेको छ । 

घटना पश्चात् पुलिसले देशभर नागरिकहरुलाई शान्त रहन अपील गरेको थियो । सर्वसाधारणहरुले यसको विरोधमा गाडी जलाएर प्रदर्शन गरेका थिए र यसअघि दुई विदेशी अभियोगीहरुलाई पुलिसकहाँ हस्तान्तरण पनि गरेका हुन् । 

अन्तरिम प्रधानमन्त्रीले बीबीसीसँग बताए अनुसार राष्ट्रपति मोइस हैटीका कुलीन वर्ग विरुद्ध लडिरहेका थिए र यसै कारण मारिएको हुन सक्ने आशंका रहेको छ । 

बुधबार उनलाई आफ्नै घरमा स्थानीय समय अनुसार रातिको १ बजे गोली हानी हत्या गरिएको थियो जसमा उनकी पत्नी पनि गम्भीर घाइते भएकी हुन् । उनलाई उपचारका लागि फ्लोरिडा लगिएको छ । 

सार्वजानिक भिडियोमा कालो रङको पहिरन लगाएका भारी रुपमा हतियारधारीहरुले अमेरिकी ड्रग्स एजेन्ट भएको नाटक गर्दै ‘अमेरिकन औषध प्रशासन अन्र्तगतको अपरेसन, सबैजना तल तल ” भनेर ठूलो स्वरमा कराएको देख्न सकिन्छ । राष्ट्रपति मोइसको शरीरमा १२ वटा गोलीको निशान फेला पारिएको थियो । अधिकारीहरुका अनुसार उनका तीन छोराछोरीलाई सुरक्षित स्थलमा राखिएको छ । 

कार्यबाहक प्रधानमन्त्री क्लाउडे जोसेफले भनेका छन्, “विदेशी आतंकवादीले नै यो आक्रमण गरेका हुन् । यसअघिको रिपोर्टमा पनि हमलाकारीहरुले अङ्ग्रेजी र स्पेनी भाषा बोलेको खबर गरिएको थियो जबकी हैटीको आधिकारिक भाषा फ्रेन्च र क्रेओल हो । ” उनका अनुसार हत्यामा संलग्न ६ कोलम्बियन र २ हैटियन अमेरिकीहरु रहेका छन् र हमलामा संलग्न अधिकांशलाई पक्राउ गरिसकिएको छ । त्यसैले उनले नागरिकहरुलाई अनुसन्धानमा मद्दत गरिरहन अनि केही शंकास्पद देखा पर्नासाथ खबर गर्न अपील गरेका हुन् । 

जोसेफका अनुसार मोइस पछिल्लो समय देशभित्रका केही कुलीन वर्गहरु विरुद्ध लडिरहेका थिए । तर अहिलेसम्म उनीहरुको ती विदेशी हमलाकारीहरुसँग केही सम्बन्ध छ छैन भन्ने पत्ता लागिसकेको छैन । 

५३ वर्षीय मोइस हैटीका जनतामाझ अत्यन्तै अलोकप्रिय मानिदै आएका थिए । उनका थुप्रै राजनीतिक विपक्षीहरु थिए । तरपनि घटनामा विदेशीहरुको संलग्नता रहेको थाहा पाएपछि सर्वसाधारणहरु अधिक आक्रोशित बनेका छन् । 

बिहिबार दिउँसोको प्रेस सम्मेलनमा पुलिस चिफले पक्का गर्दै ६ अभियोगीलाई पक्राउ गरिएको बताएका छन् । र हाल यस आक्रमणका मुख्य रचनाकारको खोजी भइरहेको जानकारी दिएका हुन् । 

हमलाकारीहरु घटनास्थलबाट भाग्दैगर्दा नै पुलिसले तिनको बाटो छेकेको थियो र त्यसबीच भएको गोलीबारीमा चार अपराधी मारिएको र तीनजना अस्पतालमा उपचाररत् रहेको बताइएको छ । 

पक्राउ परेका मध्ये अमेरिकी नागरिक भनिएका अभियोगी हैटी मूलका भएको पनि बताइएको छ । यता अमेरिकी विभागले चाहिँ यसबारे पक्का गर्न नसकेको बताइरहेको छ । 

राष्ट्रपति मोइसको हत्यापछि संविधान अनुरुप सर्वोच्च अदालतका प्रमुखले उनको पद भार गर्नुपर्ने हुन्थ्यो तर तिनको केही समय अगाडि मात्र कोभिड–१९ का कारणले मृत्यु भएको हो । यस्तोमा नयाँ संशोधनपछि  प्रधानमन्त्रीले देश चलाउन सक्ने बताइएको छ । यसै हप्ता एरियल हेन्रीलाई नयाँ प्रधानमन्त्री नामाकरण गरिएको हो तर उनले शपथ लिएका छैनन् । उनले सबै जिम्मेवारी आफूले नै उठाउँदा उचित हुनेमा जोड दिँदै आएका छन् । 

तर उनको सो बयानले आफू अचम्मित परेको कार्यवाहक प्रधानमन्त्री क्लाउडे जोसेफले बताए । अहिले यस्ता सबै कुरा पछाडि छाडेर देशलाई अघि बढाउनेबारे सोच्नुपर्ने जोसेफको भनाइ छ । जोसेफले आफू राष्ट्रपतिका लागि नउठ्ने स्पष्ट पार्दै भनेका छन्, “म यहाँ लामो समयका लागि रहन आएको होइन । हामीले चुनाव गर्नै पर्छ । यसमा मेरो व्यक्तिगत एजेन्डा केहीपनि छैन । ”

उनको सो भनाइलाई संयुक्त राष्ट्र संघले पनि समर्थन गरेको छ । हैटीका लागि राष्ट्र संघकी विशिष्ट दूत हेलेन ला लाइमले यस वर्षको चुनाव अगाडिसम्म जोसेफले नै पदको जिम्मेवारी उठाउनुपर्ने भनेकी हुन् । यता अमेरिकाले पनि योजना अनुरुप निर्वाचन गराउनुपर्ने बताएको छ । 

हैटीमा २०१९ मै चुनाव गर्नुपर्ने तय भएको थियो तर विभिन्न विवादका कारण ढिलाइ हुँदै आएको थियो ।