पक्ष विपक्ष अब बाँकी छैन : नेमवाङ

काठमाण्डाैं । नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक बस्दै छ । कार्यदलका नेताहरुले आज एकता सम्बन्धी सहमति सार्वजनिक हुने दाबी गरेका छन् ।  बैठकका लागि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेताहरु सिंहदरबार पुगिसकेका छन् । तर वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु भने पुगेका छैनन् ।

ओली समूहबाट कार्यदल संयोजक रहेका नेता सुवास नेम्वाङले आफूहरु बैठकका लागि पुगिसकेको र माधव नेपाल समूहलाई पर्खिरहेको बताए । उनले भने– ‘हामीले यो पक्ष र त्यो पक्ष भन्ने कुरा बिर्सिसकेका छौँ, अहिले हामी उहाँहरुलाई पर्खिरहेका छाैँ ।’आज सहमतिको प्याकेजलाई अन्तिम रुप दिने र त्यसपछि बस्ने स्थायी कमिटी बैठकबाट अनुमोदन गर्ने कार्यदलका नेताहरुले बताएका थिए ।

हिजो दुवै पक्षका नेताहरुले आज बिहान ८ बजे बैठक बसेर एकता सम्बन्धी सहमतिको घोषणा गर्ने बताएका थिए । एमालेभित्र देखिएको विवाद समाधान गर्न लगातार कार्यदलको बैठक बसिरहेको छ ।