काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमित गरी भ्रष्टाचार गरेको अभियोगमा जाजरकोटको साविक लहँ गाविसका तत्कालीन सचिवविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ । आयोगका अनुसार तत्कालीन सचिव द्रोणप्रसाद पौडेलले मृत्यु भइसकेका व्यक्तिको नाममा सामाजिक सुरक्षा भत्ता निकासा गरी हिनामिना गरेको पाइएको छ ।
आयोगले पौडलविरुद्ध पाँच लाख ९३ हजार रुपैयाँ बराबरको भ्रष्टाचार गरेको अभियोग लागेको छ । यस्तै आयोगले साविक लहँ गाविसमा नै कार्यरत दीपक सुनारले सामाजिक सुरक्षा भक्ताको गलत कागजात तयार पारी सरकारी स्रोतको दुरुपयोग गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ । आयोगले सुनारविरुद्ध चार लाख ४० हजार ४०० रुपैयाँ बराबरको भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।
यसैगरी आयोगले गोरखा बारपाक सुलिकोट गाउँपालिका गोरखाका प्रमुख प्रशासकीय अधिकृत शिवबहादुर गुरुङसमेत चार जनाविरुद्ध पनि विशेष अदालतमा आज मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरेको आरोप उनीहरुमाथि लागेको छ । स्थानीय भाँक्रीचोकदेखि ताकुसम्मको सडक निर्माणको लागि लागत अनुमानअनुसारको काम नगरेको तथा ठेकेदारसँग मिलेमतो गरी रकम हिनामिना गरेको पाइएको छ ।
आयोगले प्रमुख प्रशासकीय अधिकृत शिवबहादुर गुरुङ, लेखापाल गङ्गाबहादुर घले, इन्जिनीयर सुजन अँगाईविरुद्ध तीन लाख ६८ हजार ४२० रुपैयाँ बराबरको भ्रष्टाचार गरेको अभियोग लागेको छ । यस्तै ठेकेदारहरु सोम उण्ड अमर कन्स्ट्रक्सनका अमरबहादुर गुरुङविरुद्ध पनि सोही बिगो कायम गरी मुद्दा दायर गरिएको आयोगका प्रवक्ता रिसालले जानकारी दिए ।
Add Comment