युवामाथि खुकुरी प्रहार

तुलसीपुर । दाङको तुलसीपुरमा आज (मंगलबार) बिहानै एक युवामाथि खुकुरी प्रहार भएको छ।

बिहान करिब ६ः०० बजे तुलसीपुर उपमहानगरपालिका–९ दोघरेस्थित जिम क्लब नजिकै तुलसीपुर–५ रानीजरुवा निवासी २३ वर्षीय विशाल सुनारमाथि खुकुरी प्रहार भएको हो।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालका अनुसार दङ्गीशरण गाउँपालिका–५ लौवस्ता निवासी २५ वर्षीय निर्मल बस्नेतले खुकुरी प्रहार गरेका हुन्।

खुकुरी प्रहार गर्दा सुनारको बाँया खुट्टाको तिघ्रामा काटेको छ। उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ। खुकुरी प्रहार गर्ने बस्नेत भने फरार छन्। उनको खोजी गरिरहेको प्रहरी नायब उपरीक्षक रिजालले बताए।

उनीहरुबीच सोमबार पनि सामान्य विवाद हुँदा हातपातको स्थिति आएको थियो।

पातुखोला नजिकको पुलमा हातपात हुँदा विशालको हातमा चोट लागेको थियो। हातमा चोट लागेका विशालले हिजै इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी दिएका थिए।