छोरी जन्मिएको भन्दै जन्मने बित्तिकै हत्या

विराटनगर । सोमबार राति जन्मिएकी छोरीको हत्या गरी पसलभित्र गाडेको आरोपमा शिशुको आमा र बाबुसहित चार जनालाई पक्राउ गरिएको छ । छोरी जन्मिएको भन्दै यसरी शिशुको हत्या गरिएको हो ।

मोरङको रङ्गेली नगरपालिका-५ आँपगाछीकी २५ कि खुश्बु मण्डलले सोमबार राति करिब ८ बजे घरमै छोरी जन्माएकी थिइन् । खुश्बुका बुबा आमाले सञ्चालन गर्दै आएको मदिरा पसल भित्र शिशुको शव गाडेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । खुश्बुको घर र मदिरा पसल करिब पाँच सय मिटरको दूरीमा छ ।

घटना लुकाउन श्रीमान, र आमाबुबाको हात देखिएको प्रहरीको दाबी छ । इलाका प्रहरी कार्यालय रङ्गेलीले खुश्बु, उनका श्रीमान अरुण मण्डल, खुश्बुका बुवा नागेश्वर मण्डल र आमा उर्मिला मण्डल पक्राउ परेका छन् ।पक्राउ परेका चारै जनालाई कर्तब्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेको उनले बताए ।प्रहरीका अनुसार खुश्बुका श्रीमान वैदेशिक रोजगारीका लागि मलेसियामा थिए र हालै घर फर्किएका थिए ।