देउवाको मन्त्रीमण्डल तत्काल पाँच सदस्यीय

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार प्रधानमन्त्री देउवाको सिफारिशमा चार जना मन्त्री नियुक्त गरेकी हुन्। बालकृष्ण खाँणले गृह, ज्ञानेन्द्रबहादुर कार्कीले कानून, न्याय तथा संसदीय मामिला, पम्फा भुसालले ऊर्जा, जलस्रोत तथा सिँचाइ र जनार्दन शर्माले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन्। खाँण र कार्की नेपाली कांग्रेसबाट र भुसाल र शर्मा नेकपा (माओवादी केन्द्र)बाट सरकारमा सहभागी भएका हुन्।

मंगलबार साँझ राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले प्रधानमन्त्री तथा मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ खुवाएकी छिन्। समारोहमा संवैधानिक निकायका प्रमुख एवं पदाधिकारी, पूर्वप्रधानमन्त्री, राजनीतिक दलका नेता, नेपाल सरकारका उच्चपदस्थ कर्मचारीको उपस्थिति रहेको थियो।

सर्वोच्च अदालतको फैसलापछि नेपालको संविधानको धारा ७६ (५) अनुसार देउवा प्रधानमन्त्रीमा नियुक्त भएका हुन्। सर्वोच्चले सोमबार प्रतिनिधि सभा पुनःस्थापना गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो। देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश माग गर्दै देउवासहित १४६ जना सांसदले १० जेठमा सर्वोच्चमा निवेदन दिएका थिए।