देउवामाथि पनि सरकरी निवास दुरुपयोगको अभियोग


काठमाडाैं । विगत केही समयअघिदेखि प्रधानमन्त्री निवास बालुवाटारको दुरुपयोग हुँदै आएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा ओलीको कार्यकालमा एमाले पार्टीको बैठक बस्ने गरेको थियो । त्यसको खर्चपानीको व्यवस्था पनि सरकारी ढुकुटीबाट हुने गरेको थियो । त्यसैगरी वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले पनि सरकारी निवास बालुवाटारमै कांग्रेस पदाधिकारी बैठक राख्न थालेका छ्न् । सो को खर्चपानीको व्यवस्था पनि सरकारी ढुकुटीबाट भइरहेको छ ।


यस विषयमा ध्यानाकर्षण गराउँदै र प्रधानमन्त्री निवास बालुवाटारको दुरुपयोग गरेको भन्दै अधिवक्ता ओमप्रकाश अर्यालले यसबारेको सार्वजनिक सूचना उपलब्ध गराउन मन्त्रिपरिषद्सँग माग गरेका छन् । अर्यालले संविधानको धारा २७ तथा सूचनाको हक सम्बन्धी ऐन, २०६४ बमोजिम सूचना उपलब्ध गराउन माग गरेका हुन् ।  

अधिवक्ता अर्यालले निवर्तमान प्रधानमन्त्री केपी ओलीको कार्यकालमा बालुवाटारमा बसेको तत्कालीन नेकपा र एमालेको राजनीतिक तथा संसदीय दलका बैठकको सङ्ख्या उपलब्ध उनले माग गरेका हुन् । दलीय बैठकमा भएको सरकारी खर्चको विवरणसहितको जानकारी उपलब्ध गराउन पनि उनले माग गरेका छन् ।

बालुवाटारस्थित सरकारी निवास दुरुपयोग गरेको आरोप ओली मात्रै नभएर वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवामाथि पनि छ । देउवा प्रधानमन्त्री नियुक्त भएयता बालुवाटारमा आयोजित नेपाली काँग्रेसको  बैठक सङ्ख्या तथा बैठकमा भएको सरकारी खर्चको विवरण उपलब्ध गराउन उनले माग गरेका छन् । त्यस्तै, प्रधानमन्त्री निवासमा प्रवेश पाएका व्यक्तिको विवरण सहितको जानकारी पनि उनले मागेका छन् । प्रधानमन्त्री छँदा पार्टीका कार्यक्रम तथा बैठक बालुवाटारमा गरेको भन्दै ओलीको आलोचना हुने गरेको थियो । देउवा प्रधानमन्त्री नियुक्त भएयता काँग्रेस पदाधिकारी बैठक पनि बालुवाटारमै बस्ने गरेको छ ।