संसद त्यसै बचेको हो र ? : प्रचण्ड

काठमाडाैं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानको धारा व्याख्या गर्दा संसद बचेकाे बताएका छन् ।

तर आज अहिले आएर प्रतिपक्षीले प्रणाली नै सकिन लाग्यो भनेर गोहीको आँशु चुहाएको उनको दाबी छ । ‘दुई तिहाईको प्रधानमन्त्रीले बहुमत हुँदाहुँदै पटक–पटक संसद विघटन गर्ने काम भयो। गोहीको आँशु चुहाएर तपाईलाईं पत्याउँछ कसैले? प्रणालीको बडो चिन्ता? ७६ (५) संसदको विशेषाधिकार हो,’ प्रचण्डले भने।

पार्टीभित्रकाे आन्तरिक विवादका कारण संसदलाई शिकार बनाउन नपाउने उनको भनाइ छ । एउटै प्रधानमन्त्रीले छोटो समयमा दुई-दुई पटक संसद विघटन गरेको नेपाली इतिहास पहिलो भएकाे बताए ।  ‘पहिलो चोटी संसद विघटन गर्दा केपी जीले भनेको कुरा के थियो भने पार्टीभित्र काम गर्न दिएन त्यसैले संसद विघटन गरेँ,’ प्रचण्डले भने, ‘पार्टीभित्रको कुराले संसदलाई ‘भिक्टिम’ गर्न पाइन्छ ? यो कुन चाहिँ लोकतन्त्र हो यो ? पार्टी भित्रको बहुमतलाई किच्न खोज्ने कुन चाहिँ लोकतान्त्रिक संस्कार हो ?’

उनले केही व्यक्ति र राजनीतिक दलले माओवादी कमजोर भइसक्यो, यसलाई जे गरे पनि हुन्छ, जति पेले पनि हुन्छ भन्ने सोच राखेको र त्यही सोचका कारण उनीहरू खरानी बनेको समेत बताए ।