रामोसलाई मन पर्छ मेस्सी

एजेन्सी । चर्चित खेलाडीहरूको पनि वर्तमानमा चलिरहेका खेलाडी नै राजाइका खेलाडी हुनसक्छन् । यस्तै भएको छ फुटबल खेलाडी रामोसको सन्दर्भमा पनि । स्पेनिस क्लब रियल म्याड्रिडका पूर्व कप्तान तथा डिफेन्डर सर्जियो रामोसले आफू सधैं बार्सिलोनाका कप्तान तथा फरवार्ड लिओनेल मेस्सीको प्रशंसक रहेको बताएका छन् ।

रामोस १६ वर्ष लामो रियल म्याड्रिड बसाइपछि फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेका छन् । रामोसले क्लब व्यवस्थापनसँग नयाँ सम्झौताका लागि सहमति गर्न नसक्दा क्लब परिवर्तन गरेका थिए । रियलमा रहँदा पटक पटक मेस्सीको सामना गरेका उनले अर्जेन्टिनी फरवार्ड सधैं आफ्नो रोजाइमा रहेको बताएका हुन् ।

‘म सधैं उत्कृष्ट खेलाडीहरु सँग खेल्न चाहन्छु । मेस्सी विश्वका उत्कृष्ट खेलाडीमा पर्छन् । मैले सधैं भन्दै आएको छु की मेस्सी मेरो रोजाइमा पर्ने खेलाडी हुन्,’ रामोसले टिएनटि स्पोर्ट्सलाई भने । मेस्सीसँग सन् २०१३ देखि २०१७ सम्म सँगै खेलेका नेयमारले अब रामोससँग एकै टोलीबाट खेल्नेछन् । नेयामारबारे पनि रामोसले आफ्नो सम्बन्ध सुमधुर रहेको बताए । ‘नेयमार बार्सिलोनामा हुँदा पनि व्यक्तिगत रुपमा मेरो राम्रो सम्बन्ध थियो,’ उनले भने ।

‘हाम्रो टोली एक अर्काको विरुद्धमा उत्रिए पनि हाम्रो सम्बन्ध राम्रो थियो । म पिएसजी आएपछि उनीसँग नियमित कुरा भएको छ । जब स्टार खेलाडीले नै आफूलाई खोज्छन् भने त्यो निकै राम्रो हो,’ रामोसले भने । पीएसजीमा रामोस रियलका पुर्व सहयात्री केलर नाभास, एन्जल डि मारिया, अक्रफ हाकिमीसँग पुर्नमिलन हुनेछ । जुआन बर्नाट, सर्जियो रिको, पाब्लो साराविया र एन्डर हेरेरा उनको स्पेनिस सहयात्री हुनेछन् ।

चार पटकको च्याम्पियन्स लिग विजेता रामोसको अनुभव पीएसजीलाई फाइदाको विषय हुनेछ । पीएसजी पहिलोपटक च्याम्पियन्स लिग जित्ने लक्ष्यमा रहेको छ । पीएसजीमा रामोसको सहयात्रीमा अब नेयमार केलियन एमबाप्पे पनि हुनेछन् ।

अब पीएसजीको लक्ष्य नेयमार र एमबाप्पेलाई क्लबमै राख्नु हुनेछ । सन् २०१० को विश्वविजेता टोलीका सदस्य रामोसले गत सिजन चोटका कारण अधिकांश खेल गुमाएका स्पेनको युरोपेली च्याम्पियनसिप र ओलम्पिक टोलीमा स्थान बनाउन असफल भएका थिए ।