हरिशयनी एकादशीको महत्व र विशेषता

काठमाडाैं । हरिशयनी एकादशी विभिन्न कुराका कारण एकदमै महत्वपूर्ण मानिन्छ । यस एकादशीका विभिन्न विशेषता पनि रहेका छन् । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारि चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ ।

सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने विश्वास रहेकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको हो ।

आषाढ शुक्ल–पक्षमा पर्ने हरिशयनी एकादशीलाई एउटा महत्वपूर्ण एकादशीका रूपमा वैदिक शास्त्रहरूमा व्याख्या गरिएको पाइन्छ । श्रृष्टिकर्ता भगवान हरि अर्थात् विष्णु यस एकादशीबाट चार महिनाका लागि पातालमा शयन (सुत्न) जाने विश्वास गरिन्छ । त्यहीकारण यस एकादशीलाई हरिशयनी एकादशी या देवशयनी र असारे एकादशी पनि भनिन्छ ।

यो एकादशीका दिन चीर निन्द्रामा गएका भगवान् हरि चर्तुमास सकी एकैचोटि कार्तिक महिनाको हरिबोधिनी एकादशीमा मात्र जाग्ने जनविश्वास छ । हरिशयनी एकादशीलाई तुलसीरोपण दिवस पनि भनिन्छ । आजको दिन भगवान् विष्णुको प्रतीकको रूपमा घर–घरमा तुलसी रोप्ने गरिन्छ । घर वरपरको हावा स्वच्छ तुल्याउन तुलसीविना भगवान विष्णुको कुनै पनि पूजा आराधनाले पूर्णता पाउँदैन । तुलसी अति उपयोगी वनस्पति हो, यसको पात होस् या फूल सबैले उपयोगी औषधिको काम गर्दछन् ।

रुघाखोकी, ज्वरो जस्ता थुप्रै बिरामीहरूको उपचारमा तुलसी, घरेलु औषधिका उपयोगमा ल्याउने गरिन्छ । तुलसी घरमा रोप्नाले घर वरपर नकारात्मक उर्जाहरू नास हुने मान्यता पनि छ । हिन्दूहरूका लागि तुलसीको निक्कै महत्व रहने गरेको छ । त्यसैले पनि होला प्रायः हिन्दूहरूले आफ्ना घर अगाडि तुलसीको मठ बनाएर राख्छन् । तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ ।

हरिशयनी एकादशीमा पूजा अर्चना र व्रत बस्नाले सम्पूर्ण पापको मोचन हुने र सुकर्म फल प्राप्त हुने विश्वास रहिआएको छ । चलिआएको प्राचीन किंवदन्ती अनुसार, एकादेशमा एउटा सम्पन्न राज्यमा एकजना धार्मिक राजा मन्दाताले शासन गर्ने गर्थे । तर लगातारका तीन वर्षको खडेरीले गर्दा त्यस राज्यमा समस्या उत्पन्न भएको थियो । नदी–नाला सुक्न थालेका थिए । रुख विरुवाहरूले हरियाली गुमाइसकेका थिए ।

राजाका अपराधका कारणले गर्दा पनि राज्य र नागरिकले समस्या भोग्छन् भन्ने मान्यता थियो । त्यसपछि राजा मन्दाताले आफ्नो कुनै गल्तीका कारणले वर्षाका देवता भगवान् नारायण आफूसँग रिसाउनुभएको ठानी जति गर्दा पनि उनी आफूबाट भएको भूल पत्ता लगाउन सकिरहेका थिएनन् । एक दिन राजाले अंगीरा नामका ज्ञानीलाई भेटेर समस्याको सामाधानका रूपमा हरिशयनी एकादशीको महिमाबारेमा थाहा पाउँछन् । यस एकादशीको दिन पूजा अर्चना र व्रत बसेपश्चात् राज्यमा वर्षा भएको जनविश्वास छ ।