भड्किएका साथीहरूलाई जेसुकै भएको होस्, आममाफी : ओली


काठमाडौं | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल समूहका नेताले गरेका सबै गल्तीलाई आममाफी दिने घोषणा गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३औँ स्मृति दिवसको अवसरमा बिहीबार ललितपुरमा भएको कार्यक्रममा अध्यक्ष ओलीले बाटो बिराएका र भड्किएका सबै नेतालाई आममाफी दिने घोषणा गरेका हुन् ।

‘भड्किएका साथीहरूलाई जे सुकै भएको होस्, आममाफी । आउनुहोस् मिलेर काम गरौँ’, ओलीले भने । पछिल्लो समय माधव नेपाल समूहका नेतामाथि आक्रोशित बन्दै आएका ओलीले बिहीबार एकाएक माफी दिने घोषणा गर्नुलाई महत्त्वका साथ हेरिएको छ ।

प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जना सांसदलाई स्पष्टीकरण सोध्दै कारबाहीको चेतावनी दिएको दुई दिनपछि अध्यक्ष ओलीले विगतका गल्तीलाई आफूले माफी दिने र अब मिलेर अघि बढ्न आग्रह गरे ।