तुइन काट्ने भारतीय सुरक्षाकर्मीको कदम अमानवीय : भीम रावल

काठमाडौं । दार्चुलास्थित सीमानदी महाकालीमाथि एकजना नेपाली सवार तुइन काट्ने भारतीय सुरक्षाकर्मीको कदमलाई जति निन्दा गरे पनि कम हुन्छ । यो कदमलाई नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अमानवीय र क्रुर भनेका छन्। 

दार्चुलाको व्याँस गाउँपालिका–२ माल गाउँका ३३ वर्षीय जयसिंह धामी चढेको तुइन भारतीय सीमा सुरक्षा बलले काटेर खसेका उनी महाकालीमा बेपत्ता भएपछि रावलले आक्रोश पोखेका हुन्।

‘दार्चुलाको व्यास गाउँपालिका निवासी ३५ वर्षीय जयसिंह धामी महाकाली नदी तुइनबाट तर्दै गर्दा भारतीय सुरक्षा जवानले तुइन काटदा नदीमा खसेर बगेको समाचार स्तब्धकारी छ,’ रावलले भनेका छन्, ‘यस्तो क्रुर अमानवीय कार्यको छानबिन  होस्। भारतसँग वार्ता गरी दोषीलाई कारवाही गरियोस्। मृतकका परिवारलाई राहत प्रदान गरियोस्।’
 

रोजगारीका लागि विदेश जाने तयारी रहेका जयसिंह शुक्रवार बिहान सदरमुकाम खलंगा आएका थिए। स्थानीयका अनुसार मालगाउँबाट नेपालको बाटो हुदै खलंगा आउँदा झण्डै दुई दिन लाग्थ्यो। तर भारतीय बाटो प्रयोग गर्‍यो भने दुई घण्टामै खलंगा पुगिन्छ। 

भारततिरको बाटोमा गाडीको सुविधा भएकाले नेपालीहरु त्यही बाटो हुँदै खलंगा आवातजावत गर्दछन्। खलंगा जान शुक्रवार बिहान जयसिंहसँग गाउँकै ६/७ जना मानिस आएका थिए।

माल घाटबाट तुइनको सहायताले भारततर्फ जाने गर्दछन्, उनीहरु। यद्यपि विदेश जाने योजनासहित काठमाडौँ हिँडेका धामी गन्तव्यमा पुग्न सकेनन्। भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले उनी चढेको तुइन काटिदिँदा महाकाली खसेर बेपत्ता भएका थिए।