नेकपा (एकीकृत समाजवादी) दलको ६ वटा मन्त्रालयमा दाबी

काठमाडौं । मन्त्रिपरिषदले छिट्टै पूर्णता पाउने भएको छ । माधव नेपाल पक्षलाई पर्खिएको सत्ता गठबन्धनलाई सरकार विस्तारको बाटो खुलेको छ ।

एमालेबाट अलग्गिएको माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को दल दर्ताको सनाखत सकिएको छ ।आजै दलदर्ताको प्रमाणपत्र दिने तयारी भएको बुझिएको छ । सांसद मेटमणी चौधरीले पार्टी दर्ता भएसँगै मन्त्रिमण्डल विस्तारको कामले तिव्रता पाउने बताए ।

‘एमालेमा हुँदा केही कानूनी समस्याहरु थिए तर, आज नयाँ पार्टी दर्ता भयो । भोली पर्सीसम्म मन्त्रिमण्डल विस्तार हुन्छ,’ सांसद चौधरीले भने । उनले सरकारमा सहभागिताका लागि गठबन्धनका दलहरुसंग छलफल भइरहेको बताए ।

६ वटा मन्त्रालयमा आफुहरुको दाबी रहेको समेत उनले जानकारी दिए । ‘कुन–कुन मन्त्रालय भन्ने टुंगो लागेको छैन् । तर, हामी ६ वटा मन्त्रालयलिएर सरकारमा सहभागी हुन्छौं,’ सांसद चौधरीले भने ।

यता जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो पार्टी एक हप्ताभित्रै सरकारमा सहभागी हुने बताएका छन् । तराई–मधेस र पहाडको प्रतिनिधित्व हुने गरी समावेशी आधारमा पार्टी सरकारमा जाने उनको भनाइ छ ।

महन्थ ठाकुरले प्रतिगमनको मतियार बन्दा प्रधानमन्त्री बन्ने अवसर गुमाएको टिप्पणी गर्दै डा. भट्टराईले ठाकुर–महतोलाई ‘खानेबेलामा अभागीलाई रिस उठे’जस्तै भएको भन्दै व्यंग्य गरे ।

गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका दउवाले झण्डै डेढ महिना बित्दासमेत मन्त्रिमण्डललाई पूर्णता दिन सकेका छैनन् । पाँच दलीय गठबन्धनको समर्थनमा प्रधानमन्त्री बनेका देउवाले अध्यादेश ल्याएर एमाले र जनता समाजवादी पार्टी फुटाउन सहज बनाएका थिए ।

त्यसअनुसार नै देउवा नेतृत्वको सरकारमा कांग्रेससहित माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सहभागी हुनेछन् । ठाकुर पक्षले पनि सरकारमा समान सहभागिता हुनुपर्ने बताएको छ ।