राज्य व्यवस्था तथा सुशासन समितिमा निर्मला पन्त हत्या प्रकरणबारे छलफल गरिने

काठमाडाैं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले निर्मला पन्तको बलात्कार एवम् हत्या भएको घटनाका सम्बन्धमा छलफल गर्ने भएको छ ।

अझै पीडितले न्याय नपाएको भन्दै सर्वत्र आलोचना भएपछि समितिले चासो देखाएको छ । पन्त हत्या प्रकरणमा भइरहेको अनुसन्धानको प्रगतिबारे बुझ्न समितिले गृहमन्त्री वालकृण खाँड र गृहसचिव टेकनारायण पाण्डेलाई बोलाएको छ ।

२०७५ साउन १० गते साथीको घरमा गएकी पन्तको सव भोलीपल्ट विहान बलात्कार गरी हत्या गरिएको अवस्थामा नजिकैको उखुबारीमा भेटिएको थियो । हत्यापछि भएको अनुसन्धानमा प्रहरीले समेत लापरवाही गरेपछि अनुसन्धान थप जटिल बनेको थियो ।

डीआईजी सुरज केसी नेतृत्वमा गठित पुनरावलोकन समितिको पछिल्लो प्रतिवेदनमा हत्या आरोपमा पक्राउ परेर छुटेका दिलीपसिंह बिष्ट नै मुख्य अभियुक्त रहेको उल्लेख गरेको छ । तर एकाथरीले भने दिलीपलाई फसाउन खोजेको आरोप लगाएका छन् ।

बिहान ११ बजे समिति सचिवालय सिंहदरबारमा बस्ने आजको बैठकमा दार्चुलाको व्यास गाउँपालिकाका जयसिंह धामी महाकाली नदीमा बगी बेपत्ता भएको घटनाको सम्बन्धमा पनि छलफल हुने समिति सचिवालयले जनाएको छ ।

यस्तै पछिल्लो समय बजारमा देखिएको कालाबजारी, रिलेबलिङ लगायत विविध विषयमाथि छलफल हुने बताइएको छ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा संरक्षण क्षेत्रहरुको व्यवस्थापन सम्बन्धमा छलफल हुने समिति सचिवालयले जनाएको छ । बैठक दिउँसो साढे १ बजेका लागि बोलाइएको छ ।