मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा

काठमाडौं । अविरल वर्षाले अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ ।

बिहीबार बेलुकादेखि सेती दोभानमा खसेको पहिरो आज बिहान पन्छाएर सडक सञ्चालनमा ल्याइएको छ । बिहान साढे ५ देखि पहिरो पन्छाउन सुरु गरी करिब सवा ९ बजे दुईतर्फी सडक सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

कार्यालयका निमित्त प्रमुख सूर्यबहादुर थापाले भने, “सवा ९ बजेदेखि सडक सञ्चालनमा आएको जानकारी छ । तर, अझै पनि लेदो बग्ने क्रम जारी छ । हेरौँ, कति समयसम्म सडक सञ्चालन गर्न सकिन्छ ।”

सोही ठाउँको १४ किलोमा सडक चिरिएका कारण थप जोखिम बढेको ट्राफिक प्रहरीले जनाएको छ ।

आज बिहान करिब साढे ४ बजेतिर पाँच किलोमासमेत सुक्खा पहिरो खसेको थियो । सो पहिरो पनि पन्छाएर सडक सञ्चालनमा ल्याइएको थापाले बताए ।