श्रीमतीको हत्या गर्ने श्रीमानद्वारा आत्महत्या

भोजपुर । श्रीमतीको हत्या गर्ने श्रीमानले आत्महत्या गरेका छन् । श्रीमतीको हत्या गर्ने श्रीमान पनि मृत फेला परेपछि यस्तो खुलासा भएको हो । भोजपुर प्रहरीलाई उद्धृत गर्दै प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जानकारी गराएको छ ।

शनिबार  राती साढे १ बजे खुकुरी प्रहार गरि २८ वर्षीया श्रीमती इन्द्रकला राईको हत्या गर्ने ४० वर्षीय बुद्धिमान राई घर नजिकै मृत फेला परेका हुन् । यो घटना प्रदेश १ को भोजपुर षडानन्द नगरपालिका –९ तालखर्कको हो ।

राती सँगै सुतेकी  श्रीमतीको हत्या गरेर घर बाहिर निस्केका श्रीमान बुद्धिमान   ४० मिटर टाढा रहेको दुधिलोको रुखमा कपडाको पासोमा मृत फेला परेका थिए । 

आमालाई खुकुरी प्रहार गरेर हत्या गरेको देखेका ८ वर्षीय छोराले घटनाबारे  छिमेकीलाई खबर गरेका थिए । छिमेकी घटनास्थल पुग्दा दुबै जना मृत फेला परेका थिए । त्यसपछि  छिमेकीहरुले प्रहरीलाई खबर गरेका थिए । घटनाको  इलाका प्रहरी कार्यालय साङपाङ र तिवारीभंज्याङबाट खटिएको  टोलीले अनुसन्धान गरिरहेको छ ।