काबुलमा फसेका ४२ नेपालीको भारतीय विमानबाट उद्धार गर्न सम्भव छ ?

काबुल । परराष्ट्र मन्त्रालयका अनुसार अहिले काबुलमा ४२ जना नेपालीहरु एयरपोर्ट नजिक उद्दारको पर्खाइमा छन् । बिहीबार भएको विस्फोटको घटनामा उनीहरु एयरपोर्टबाट १३ किमी टाढा पर्ने एक गुरुद्धारमा भेला भएर पर्खाइमा बसेको जनाइएको छ ।

परराष्ट्रको उद्दार कार्यदलका एक सदस्यका अनुसार विस्फोट अघि नै उनीहरु गुरुद्धार पुगिसकेकाले उनीहरु सुरक्षित छन् । दिल्लीस्थित नेपाली दूतावासले ती नेपालीलाई उद्दार गर्न भारत र अमेरिका सरकारसँग समन्वय गरिरहेको छ ।

परराष्ट्रले हिजो साँझ विज्ञप्ति जारी गर्दै सबै नेपाली सुरक्षित अवस्थामा रहेको र सबैसँग नियमित सम्पर्क भैरहेको जनाएको छ । शिख समुदायले संचालन गरेको निशुल्क खाने र बस्ने ठाउँमा नेपाली र भारतीयहरु बसिरहेका छन् ।

कार्यदलका ती सदस्यका अनुसार भारतीय एयरफोर्सको बिमानबाट रोकिएका ती ४२ जना नेपालीलाई उद्दार गर्न कूटनीतिक प्रयास भैरहेको जनाइएको छ । विस्फोटको एकदिन अघि ११ जना नेपाली काबुलबाट दिल्ली पुगेका छन् र उनीहरुलाई कोभिड प्रोटोकल पालना गर्दै काठमाडौं ल्याउने तयारी भएको छ ।