काबुल विस्फोटको पछिल्लो अपडेट

एजेन्सी । अफगानिस्तानको राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलको बाहिर भएको बम विस्फोटमा परेर अहिलेसम्म कम्तीमा १७० जनाको ज्यान गएको छ । फक्स न्यूजका अनुसार १३ अमेरिकी सैनिक र दुई इङ्गल्याण्डका नागरिकसहित १७० जनाको ज्यान गएको हो । मारिनेमा १५५ अफगानी पनि हुन् । जसमा २८ जना तालिबानी थिए । 

विष्फोटमा परी १ हजार २७६ भन्दा बढी घाइते भएका छन् । बिहीबार आतंकवादी संगठन आईएसआईएसले त्यहाँका आक्रमणकारीहरुले विमानस्थल छिर्ने मूल द्वारको बाहिरपट्टि विस्फोट गराएका थिए । काबुल तालिबानीहरुले कब्जामा लिएपछि आफ्नो देश फर्किनका लागि विमानस्थलमा जम्मा भएका हजारौँको भीडलाई लक्षित गरेर उनीहरुले विस्फोट गराएका हुन् । 

अफगानिस्तानमा रहेको अमेरिकी सैन्य समूहका प्रमुख कमान्डरले आफ्ना १३ सेनाको पनि मृत्यु भएको पुष्टि गरेका छन् । उनले सो आक्रमणमा मारिएका १३ जना अमेरिकी सैन्य सेवाका सदस्य रहेको बताए । 

बम विस्फोट भएपछि भागदौड भएको र त्यसमा परेर केही व्यक्तिको ज्यान गएको बताइएको छ । आफ्नो देश फर्किनका लागि विमास्थलमा जम्मा भएका विदेशी नागरिकलाई लक्षित गरेर विस्फोट गराइएको समाचारमा जनाइएको छ ।     

काबुल विमानस्थलमा हजारौँको भीड लागेको समयमा आक्रमणकारीहरुले बम विस्फोट गराएका हुन् । विमानस्थलबाहिर रहेको भीडभाडलाई लक्षित गरेर सो आक्रमण गराएको बताइएको छ ।

अमेरिका र उसको नेटो गठबन्धनका सदस्य राष्ट्रले अगस्ट ३१ भित्र आफ्ना नागरिक तथा आफ्नो देश फर्किन विमानस्थलमा बसेका अरू देशका मानिसको उद्धार सम्पन्न गरिसक्ने जनाएका छन् ।

उता तालिबानले भने विमानस्थल पुग्ने सबै बाटो बन्द गरिसकेको छ । उनीहरुले पनि सो विमानस्थलमा सुरक्षा दिइरहेका बताइएको छ ।