सरकारले जनताले अनुभूति गर्ने गरी दीगो विकासका कार्य गर्छ : मन्त्री कार्की

काठमाडाैं । नेपाल सरकारका प्रवक्ता कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान मन्त्रिमण्डलले चाँडै पूर्णता पाउने बताएका छन् ।

विराटनगर विमानस्थलमा शनिवार सञ्चाकर्मीसँग कुरा गर्दै उनले सबै दलसँग छलफल गरेर छिट्टै मन्त्रिमण्डल विस्तार गरिने प्रस्ट पारे ।

सरकारका प्रवक्ता कार्कीले स्थिर सरकार र दीगो विकासका लागि गठबन्धन दलबाहेक अन्य दललाई पनि सरकारमा सहभागी गराउन कुरा भइरहेको जानकारी दिए ।

समयको महत्त्व बुझेर सरकारले जनताले अनुभूति गर्ने गरी दीगो विकासका कार्य गर्ने प्रस्ट पारेका उनले राजनीतिक दलसम्बन्धी अध्यादेश आवश्यकता र बाध्यताले ल्याइएकाले आगामी अधिवेशनमा यस सम्बन्धमा छलफल हुने जानकारी दिए ।

एक प्रश्नको जवाफमा मन्त्री कार्कीले नेपाली कांग्रेसको अधिवेशन तोकिएकै समयमा गर्न भदौ १८ गते वडास्तरीय अधिवेशन गरिने र सभापतिको उम्मेदवारीका लागि पनि सूचना जारी गरिने जानकारी दिए । एमसीसीे एक विकास परियोजना भएकाले यो हाम्रो मुलुकलाई जरुरी रहेको भन्दै उनले यस सम्बन्धमा दलहरूबीच छलफल गरेर मात्र पारित गरिने बताए ।

मन्त्री कार्की सुनसरीको रामधुनी नगरपालिकाको कार्यक्रमका लागि आएका छन् ।