नागढुङ्गा नौबिसे सडक खण्ड ठप्प, काठमाडाैं आउने यात्रु अलपत्र

काठमाडाैं । चिसापानी धारा नजिकै सडकमा पहिरो खसेपछि नागढुङ्गा – नौबिसे सडक खण्ड ठप्प भएको छ।

आइतबार बिहान ८ः ४० बजे चन्दागिरि नगरपालिका वडा नम्बर २ चिसापानी धारा नजिकै सडकमा पहिरो खसेपछि दुवैतर्फ बाटो अवरुद्ध भएको महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी निरीक्षक त्रिभूवन थापाले जानकारी दिए।

पहिराेले सडक अवरुद्ध भएपछि काठमाडौँबाट बाहिरिने र भित्रिने सवारी साधनहरु रोकिएका छन्।

अहिले पहिरो पन्छाउने काम सुरु भएको छ।

डेढ दुई घण्टाभित्रै पहिरो पन्छाएर सडक सुचारु गर्ने प्रयास भैरहेको प्रहरी निरीक्षक थापाले बताए।

उनले भने, ‘सुरुङ मार्गकाे डाेजर मगाएर पहिराे पन्छाउने काम सुरु भयाे, डेढ दुई घण्टाभित्रै सडक सुचारु हुन्छ हाेला।’