ओली अध्यक्ष भएदेखि हामीमाथि अन्याय गरिरहे : माधवकुमार नेपाल


काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपाली राजनीतिमा एउटा चम्किलो तारा र सूर्य उदाएको बताएका छन् । समाजवादीको संसदीय दलको आइतवार बानेश्वरमा बसेको बैठकलाई सम्बोधनका क्रममा यस्तो बताएका हुन्।

‘नेपाली राजनीतिमा एउटा नयाँ तारा उदाएको छ’, उनले भने, ‘एकीकृत सजमावादीको नाममा नयाँ सूर्य उदाएको छ।’ उनले एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्धको लामो समयदेखिको संघर्षबाट यो पार्टी जन्मिएकाले जनतामाझ स्थापित हुने पनि बताए। 

‘पुनर्गठित पार्टी नेकपा एकीकृत समाजवादी बलियो शक्तिका रुपमा उदाएको छ’, उनले भने,’हामीले निकै लामो समयदेखि संसद र पार्टी दुवैतिर संघर्ष गरेका थियौँ। केपी ओलीजीका गलत व्यक्तिवादी विचार र दृष्टिकोणविरुद्ध संघर्ष गरेका थियौँ।’

तर आफूहरुले ओलीलाई सुधार्न नसकेको पनि उनले बताए। ‘ओली सुध्रिन सकेनन्, सुध्रनु भन्दा पनि मानेनन्’, उनले भने, ‘पार्टीको भविष्य के होला भनेर चिन्ता थियो। न्यायका लागि लड्ने हामीहरु आफ्नै लागि लड्नुपर्यो।’

ओलीको अत्याचार धेरै सहेको उनले बताए। ‘ओलीको अत्याचार सहँदै सहँदै आयौँ ‘, उनले भने, ‘बजेट बाँडफाँटमा पनि विभेद गरे। ओलीले अध्यक्ष भएदेखि हामीमाथि अन्याय गरिरहे।’