एजेन्सी । तालिबानको राज चल्न थालेपछि देश छोड्न खोजिरहेका मानिसका लागि तालिबानले बयान जारी गरेको छ । बाहिर जान चाहनेहरूले कमर्सियल उडान पुनः शुरू हुने प्रतीक्षा गर्नुपर्ने र उचित दस्तावेजका साथ सम्मानजनक तरिकाले विदेश यात्रा गर्न सक्ने तालिबानको भनाइ छ ।
तालिबानले अफगान नागरिकहरूलाई देशबाट भाग्नुको साटो मुलुककै प्रगतिका लागि काम गर्न आह्वान पनि गरेको छ ।
तालिबानको राजनीतिक कार्यालयका उपनिर्देशक शेर मोहम्मद अब्बास स्टानिकजाईले कमर्सियल उडानको प्रतीक्षा गर्न अफगानहरूलाई आह्वान गरेका हुन् ।
हजारौं अफगान नागरिक काबुल विमानस्थलमा भेला भएका छन् र देश छोड्न खोज्दैछन् । यस प्रयासमा कैयौंले ज्यान गुमाइसकेका छन् ।
बिहीवार भएको आत्मघाती आक्रमणमा लगभग १०० अफगान नागरिक र १३ अमेरिकी सैनिक मारिए ।
यस्तै आक्रमण फेरि हुन सक्ने भन्दै अमेरिकाले सैनिक र नागरिकहरूलाई विमानस्थलबाट टाढा बस्न भनेको छ ।
तालिबानले अफगानहरूलाई देशको प्रगतिका लागि काम गर्न र मुलुक छोडेर नजान भनेको छ । शत्रुहरूले तालिबानका विरुद्ध गरिरहेको नकारात्मक प्रचारको जवाफ इमामहरूले दिनुपर्ने पनि उसको कथन छ ।
Add Comment