पिएसजीबाट आज मेस्सीले पहिलो खेल खेल्ने

एजेन्सी । लियोनल मेस्सीले पेरिस सेन्ट जर्मन-पिएसजीबाट लागि आइतबार डेब्यु गर्ने भएका छन्। स्पेनिस अखबार मार्कासहित थुप्रै समाचार संस्थाहरुले फ्रान्सको घरेलु लिग फुटबलमा पिएसजीले रिम्ससँग खेल्दा मेस्सीले डेब्यु गर्ने उल्लेख गरेका छन्।

तर मेस्सी सुरुवाति टोलीमा समावेस हुने वा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गर्ने भन्ने निश्चित नभएको समाचारहरुमा जनाइएको छ। प्रशिक्षक माउरिसिओ पाेकेतिनाेको टोलीमा रहेर १५ दिन प्रशिक्षण गरेपछि मेस्सी डेब्युका लागि तयार भएका हुन्।

जुलाईको दोस्रो साता सम्पन्न कोपा अमेरिकायता मेस्सीले नखेलेकाले‍ उनले पीएसजीमा आबद्ध भएर पनि डेब्युका लागि केही समय लिएका हुन्।

स्पेनिस क्लब बार्सिलोनाका लागि १७ वर्ष खेलेपछि गत महिना मेस्सी त्यहाँबाट बाहिरिएका हुन्। उनले आफ्नो करियरमा हालसम्म क्लब फुटबल बार्सिलोनाबाहेकबाट खेलेका छैनन्। पिएसजीले यो सिजन घरेलु लिगमा खेलेका सबै तीन खेल जितेको छ। तुलानात्मकरुपमा कमजोर प्रतिद्धन्द्धीसँग खेलिरहेकाले शानदार जित हात पारिरहेको छ।

मेस्सीले यो खेलपछि अर्जेन्टिनाका लागि खेल्नेछन्। सेप्टेम्बरको दोस्रो साता उनी क्लब फुटबलमा फर्कने छन्।