अफगानिस्तानबाट २० हजार पाकिस्तानी नागरिक विस्थापित


एजेन्सी । तालिबान विद्रोहीहरूले सत्ता कब्जा गरेपछि अफगानिस्तानबाट अहिलेसम्म २० हजार पाकिस्तानी नागरिक विस्थापित भएका छन्। 

यो सङ्ख्या विमानबाट पाकिस्तानको केन्द्रीय राजधानी इस्लामाबाद विमानस्थलमा आउनेहरूको मात्रै भएको पाकिस्तानी अधिकारीहरूले बताएका छन्।

तालिबान विद्रोहीहरूले यही अगस्त १४ तारिखका दिन अफगानिस्तानको केन्द्रीय राजधानी काबुल आफ्नो नियन्त्रणमा लिएदेखि अहिलेसम्म काबुलबाट इस्लामाबादसम्म ३३२ उडान भएका छन् । सो उडान मार्फत ती विस्थापितहरू पाकिस्तान आइपुगेका हुन्।

अफगानिस्तानमा रहेका धेरै मानिसले अफगानिस्तान छोड्न चाहेको र काबुल विमानस्थलमा ठूलो भीड लागेपछि पाकिस्तानले विषेश उडानसमेत सञ्चालन गरेको थियो।

छिमेकी देशको सामान्य दायित्वका रूपमा उनीहरूलाई उद्धार गरिएको र असीमित मानिसलाई ल्याउन पनि नसकिएको पाकिस्तानी अधिकारीहरूको भनाइ छ।  

कतिपय विस्थापितहरूले इस्लामाबाद विमानस्थललाई माध्यमको रूपमा मात्रै प्रयोग गरेर अन्यत्र पनि गएको उनीहरूले जनाएका छन्। 

‘पाकिस्तानको सीमानाकाबाट अहिले दैनिक १८ हजार मानिस आउने जाने गरेका छन्,’ चामन नाकाका कोरोनाभाइरस स्वास्थ्य समूहका प्रमुख हमिद उल्लाहले भने। 

उनका अनुसार यसअघि सोही ठाउँबाट दैनिक १२ हजारले ओहोरदोहोर गर्ने गरेका थिए । यो सङ्ख्या हेर्दा पहिलाभन्दा अहिले सीमानाका प्रयोग गर्नेहरूको सङ्ख्या बढेको छ। एजेन्सी