कर्णाली प्रदेशका तीन एमाले सांसद् एकीकृत समाजवादीमा

काठमाडौं । कर्णाली प्रदेशमा नेकपा एमालेका ३ जना सांसदले एमाले विभाजनपछि बनेको नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन् । उनीहरुले बुधबार सुर्खेतको वीरेन्द्रनगरस्थित प्रदेश निर्वाचन कार्यालयमा सनाखत गरेका छन् ।

मुगुका चन्द्रबहादुर शाही, जुम्लाका पदम रोकाय र रुकुमकी देवी ओलीले एकीकृत समाजवादी रोजेका हुन् । निर्वाचन आयोगले यही भदौ २२ गतेसम्म दल रोज्न सकिने समय दिएकाले थप सांसदहरुले पनि एकीकृत समाजवादी रोज्ने नेताहरुले दावी गरेका छन् ।

पार्टी विभाजन अघि माधव समूहमा ८ जना सांसद रहेका थिए । ती मध्ये ४ जनाले फ्लोर क्रस गरेपछि पद गुमाएका थिए । आफ्ना पार्टीका सांसदहरुलाई रोक्न एमाले उपाध्यक्ष युवराज ज्ञवालीसहितको टोली अहिले कर्णाली प्रदेशमा क्रियाशील छ । ज्ञवाली बुधबार दैलेखमा छन् । एमालेमा अव १३  सांसद बाँकी रहेका छन् । ४० सदस्यीय कर्णाली प्रदेशसभा हाल ३५ सदस्यीय कायम छ ।