उत्तर कोरिया भन्छ, हामीलाई भ्यक्सिन चाँहिदैन चाहिनेलाई दिनू

एजेन्सी । उत्तर कोरियाले आफूलाई कोरोना भाइरसविरुद्धको खोप आवश्यक नभएको बताएको छ । सँयुक्त राष्ट्र संघका अनुसार चीनमा उत्पादन भएको सिनोभ्याक खोपको ३० लाख डोज कोभ्याक्स कार्यक्रम अन्र्तगत उत्तर कोरियालाई दिइदै थियो ।

तर, उत्तर कोरियाले सो खोप लिन अस्वीकार गरेको राष्ट्र संघलाई उदृत गर्दै बीबीसीले जनाएको छ । बीबीसीका अनुसार उत्तर कोरियाले आफूलाई दिने भनिएको खोप अन्य मुलुकलाई दिनसमेत भनेको छ ।

यसअघि उत्तर कोरियाले एस्ट्राजेनेका खोप लिन पनि अस्वीकार गरेको थियो । रुसी विदेशमन्त्री सर्गेइ लाभरोभले पनि उत्तर कोरियालाई स्पुतनिक–५ खोप लिन बारम्बार प्रयास गरेको उल्लेख गरेका थिए ।

विश्व स्वास्थ्य संगठनका अनुसार उत्तर कोरियाले हालसम्म कोरोना संक्रमितको कुनै संख्या उपलब्ध गराएको छैन । ३७ हजारभन्दा धेरै मानिसहरुमा फ्लूको जस्तो लक्षण देखिएपछि गरिएको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

कोरोना महामारीबारे उत्तर कोरियाले स्पष्ट जानकारी सार्वजनिक गर्ने गरेको छैन । उत्तर कोरियाले महामारी सुरु भएदेखि नै कडा नियम बनाएको छ ।

गत वर्ष पहिलो पटक विश्वमा कोरोना महामारी फैलिँदा आफ्नो देशको सीमा बन्द गर्ने केही मुलुकमा उत्तर कोरिया पनि एक थियो ।