विपत्तिमा परेका नागरिकको जीवनरक्षामा ध्यान दिन मन्त्री खाँणको निर्देशन

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले प्राकृतिक विपत्तिमा परेका नागरिकको जीवनरक्षामा ध्यान दिन मातहतका निकायलाई निर्देशन दिएका छन् । बिहीवार गृहमन्त्री खाँणले कास्की, तनहुँ र दाङका विभिन्न क्षेत्रमा विपद्का कारण धनजनको क्षति भएका दुखद् घडीमा तत्तत् जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई नागरिकको जीवनको रक्षाका लागि उपलब्ध स्रोत साधनको भरपुर उपयोग गरेर काम गर्न निर्देशन दिएका हुन् ।

तीनवटै जिल्लामा भएका मनसुनजन्य घटनाका बारेमा जानकारी लिँदै उनले विपद् जोखिम न्यूनीकरणमा सक्रियतापूर्वक लाग्न पनि आग्रह गरेका छन् । गृहमन्त्री खाँणले कास्कीका प्रजिअ थानेश्वर गौतम र तनहुँका सागर आचार्यसँग लगातारको वर्षात्पछिको पहिराले पु¥याएको क्षतिबारे जानकारी लिएका हुन् भने दाङमा बिहान भएको कार दुर्घटनाबारे प्रजिअ रामबहादुर कुरुम्बाङसँग जानकारी लिएका हुन् ।

तनहुँका प्रजिअ आचार्यले जिल्लाको भानु नगरपालिकाको–११ मानेचौकामा गएको सुक्खा पहिराका कारण १२ घर जोखिममा परेको र उनीहरूलाई सुरक्षित स्थानमा सारिएको जानकारी दिएका छन् । कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले पोखरा महानगरपालिकाको–२० र ११ मा गएको पहिरामा परी तीन जनाको मृत्यु भएको र एक जना बेपत्ता रहेको जानकारी गराए ।

उनले पाँच जनाको घाइते अवस्थामा उद्धार गरिएको र बेपत्ताको अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धार जारी राखेको जानकारी दिएका छन् । दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले सिस्नेखोलाले ३–०१–०२४ च ४४४० नंको कार बगाउँदा घोराही उपमहानगरपालिका–१५ का विमला केसी र राधा कुँवर तथा घोराही उपमहानगरपालिका–१३ का नीतामाया पुन र सुशीला श्रेष्ठको मृत्यु भएको गृहमन्त्री खाँणलाई जानकारी दिएका छन् ।