वर्षौंदेखि बाँझो पल्टिएको जग्गामा चक्लाबन्दी खेती

काठमाडौँ । बागलुङमा वर्षौंदेखि बाँझो पल्टिएको जग्गालाई अहिले चक्लाबन्दी गरी कृषिउपजको व्यावसायिक खेती गर्न थालिएको छ । गलकोट नगरपालिका ४ निलुवामा छरिएर रहेको खेतीयोग्य जग्गालाई एकीकरण गरी कृषि उत्पादन सुरु गरिएको हो ।

गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालयको आर्थिक सहयोगमा स्थानीय सयपत्री बहुउद्देश्यीय सहकारी संस्था लि ले गत फागुनमा निलुवामा चक्लाबन्दी कार्यक्रम सुरु गरेको थियो ।

सहकारीका अध्यक्ष चिन्तामणि शर्माले १२४.२६ रोपनी जग्गा चक्लाबन्दी गरी कृषि बाली लगाउन सुरु गरिएको बताउनुभयो । “६० रोपनीमा आलुखेती गरेका छौँ, अरू जग्गामा तरकारी, बीउबिजन र अन्नबालीको लगाउँदैछौँ”, उनले भने, कृषि ज्ञान केन्द्रमार्फत खेती विशेष कार्यक्रम पनि सुरु हुँदैछ ।

सहकारीले स्थानीय ७३ जना किसानको जग्गालाई चल्काबन्दी गरी एकीकृत गरेको हो । जसबाट २ सय बढी गरामा बाँडिएको जग्गा १७ ‘प्लट’मा झरेको छ । सहकारीले प्रतिरोपनी वार्षिक २ हजार तिर्ने गरी आउँदो २०९० सालसम्मलाई जग्गा भाडामा ल्याएको हो । जग्गा चक्लाबन्दी कार्यक्रमका लागि मन्त्रालयले रु ३६ लाख ४९ हजार अनुदान दिएको थियो । मर्मतसुधार, सिँचाइ आदिका लागि आउँदो आवमा पनि प्रतिरोपनी ५ हजारका दरले मन्त्रालयबाट सहयोग आउने सहकारीले जानकारी दिइएको छ । यस्तै ७५ प्रतिशत अनुदानमा ट्र्याक्टर पनि उपलब्ध हुने भएको छ ।

“प्रदेश सरकार र जग्गाधनी किसानको सहयोगमा चक्लाबन्दी खेतीले सार्थकता पाउँदैछ, यसै बाँझो भएर बसेको जग्गामा व्यावसायिक कृषि सुरु भएको छ”, सहकारीका अध्यक्ष शर्माले भने, खेर गइरहेको जग्गा प्रयोगमा आएपछि किसान पनि खुसी छन् ।” तरकारीजन्य उत्पादनतर्फ आलुसँगै मुला, सिमी, सागलगायतको खेती गर्ने योजनामा सहकारी छ । माटो परीक्षणपछि कृषि क्षेत्रका प्राविधिकले दिएको सुझावका आधारमा यामअनुसारको खेतीपाती गरिने भएको छ ।

किसान पशुचौपाया लगेर महिनौँसम्म त्यही गोठथरीमा बस्दै खेतीपाती गर्थे । पछिल्लो समय भने त्यो चलन हराउँदै गएको छ । जसका कारण बारी बाँझै पल्टिए र गोठ रित्तिए पछि निलुवामा ८० भन्दा बढी परम्परागत खरका गोठ रहेका छन् । जग्गा चक्लाबन्दीमा क्रममा जीर्ण अवस्थामा रहेका १५ वटा गोठ नासिएको छ ।

धेरै कित्ता र स्वामित्वमा बाँडिएको जग्गामा ठूलो लगानीको कृषि व्यवसाय गर्न कठिनाइ भएको । चक्लाबन्दी गरेर जग्गालाई एकीकृत गर्दा भूमिको सदुपयोग बढ्नुका साथै कृषि उत्पादनमा वृद्धि हुन्छ, यसबाट किसानको आयआर्जन थपिन्छ र रोजगारी पनि सिर्जना भएको प्रमुख सुवेदीले बताए ।