काठमाडौँ । थोक तथा खुद्रा वस्तुको मूल्य अस्वाभाविक रुपमा बढाइएकाले बिक्रेताहरुले उपभोक्ताहरुले देख्ने गरी अनिवार्य रुपमा मूल्य सूची टाँसन माग गरिएको छ ।
प्रदेश नं १ का झापा, मोरङ, सुनसरी लगायतका विभित्र जिल्लामा दैनिक उपभोग्य खाद्य सामग्रीहरु चामल, दाल, चिउरा, भुजा लगायतमा अस्वाभाविक मूल्य वृद्धि भइरहेको गुनासो आएको छ । सो गुनासोसँगै नेपाली उपभोक्ता संरक्षण महासङ्घ प्रदेश नं १ समितिले आज विज्ञप्तिमार्फत थोक तथा खुद्रा बिक्रेताहरुले उपभोक्ताले देख्ने गरी अनिवार्य रुपमा मूल्य सूची टाँस्नुपर्ने माग गरेको हो ।
समितिका महासचिव विष्णुप्रसाद पोखरेलले जारी गरेको सो विज्ञप्तिमा चाउचाउ, प्याकेजिङका नुडल्स लगायतका सामग्रीहरु तौल घटाएर बजारमा पठाएको र मूल्य भने अझ बढाएर पठाएको स्वयं व्यवसायीहरुले नै बताउन थालेकोप्रति गम्भीर ध्यानाकर्षण भएको भनिएको छ ।
स्थानीय तथा जिल्लास्तरीय अनुगमन समितिहरुले यस विषयमा बजार अनुगमन तत्काल गर्न पनि सो विज्ञप्तिमा माग गरिएको छ । विज्ञप्तिमा उत्पादक वा पैठारीकर्ताले लेबलमा खुलाउनुपर्ने कुराहरु उल्लेख नगरेको पाइएकाले यस विषयमा पनि सरोकारवाला निकायहरुको ध्यानकर्षण होस् भनिएको छ ।
वस्तुमा उत्पादकको नाम, ठेगाना र उद्योगको दर्ता नम्बर, खाद्य पदार्थ, औषधि र सौन्दर्य सामग्री जस्ता वस्तुमा त्यस्ता वस्तुको मिश्रण, मिश्रणका तत्व, परिमाण र तौल, गुणस्तर निर्धारण भएको वस्तु भएमा त्यस्तो वस्तुको गुणस्तर मापक चिह्न, वस्तु उपभोग गर्ने तरिका र त्यस्तो वस्तु उपभोग गरेबाट हुन सक्ने नकारात्मक प्रभाव साइड इफेक्ट, निश्चित अवधिभित्र उपभोग गरिसक्नु पर्ने वस्तु भए त्यस्तो अवधि, वस्तुको बिक्री मूल्य, ब्याच नम्बर र उत्पादन मिति आदि उल्लेख गर्नुपर्दछ ।
इलेक्ट्रोनिक, हार्डवेयर, विद्युतीय वा यान्त्रिक वा लामो समयसम्म प्रयोगमा रहने वस्तु भए त्यस्तो वस्तुको ‘ग्यारेन्टी’ वा ‘वारेन्टी’ मिति तथा सो वस्तुसँग सम्बन्धित कानुनबमोजिम अन्य आवश्यक कुरा पनि खुलाउनुपर्नेमा नखुलाइएको बजारमा पाइएको छ ।
सबै प्रकारका कर समावेश गरी हुन आउने अधिकतम खुद्रा बिक्री मूल्य, वस्तु प्रयोग गर्नुपूर्व कुनै प्रक्रिया पूरा गर्नुपर्ने भए त्यस्तो प्रक्रिया र त्यस्तो प्रक्रिया नपु¥याई प्रयोग गर्दा हुन सक्ने हानी नोक्सानी, मानव स्वास्थ्यलाई हानि पु¥याउने खालका पदार्थहरुको लेबलमा चेतनामूलक सन्देश, चित्र वा चिह्नको प्रयोग जस्ता विषयमा गम्भीर बत्र पनि सो विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।
Add Comment