डिजिटल बैकिङ्ग सेवा धरापमा, बैंकका केही अनलाइन सेवा अस्थायी बन्द

काठमाडौँ । विश्वव्यापी रूपमा प्रयोग हुँदै आएको पीएचपी ९एज्ए० प्रोग्रामिङ भाषामा सुरक्षा कमजोरी फेला परेपछि नेपालका विभिन्न बैंक तथा वित्तीय संस्थाले आफ्ना केही वेबमा आधारित सेवा अस्थायी रूपमा बन्द गरेका छन्। सम्भावित साइबर आक्रमणबाट प्रणाली र ग्राहकको विवरण सुरक्षित राख्ने उद्देश्यले यस्तो कदम चालिएको हो।

राष्ट्रिय साइबर सुरक्षा केन्द्रले पीएचपी तथा यससँग सम्बन्धित प्रणालीमा गम्भीर सुरक्षा जोखिम देखिएपछि आपत्कालीन सुरक्षा सूचना जारी गर्दै सम्बन्धित सफ्टवेयर अद्यावधिक गर्न आग्रह गरेको थियो। तत्काल सुरक्षा सुधार गर्न नसकिने अवस्थामा जोखिमयुक्त प्रणालीलाई इन्टरनेटबाट अलग गरी सेवा बन्द गर्नसमेत सुझाव दिइएको थियो।

सुरक्षा सतर्कताका क्रममा ग्लोबल आइएमई बैंक, नबिल बैंक, प्राइम कमर्सियल बैंक, एनआईसी एसिया बैंक, सिद्धार्थ बैंक, माछापुच्छ्रे बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलगायतका संस्थाले आफ्ना केही वेबसाइट तथा अनलाइन सेवा अस्थायी रूपमा बन्द गरेका छन्।

सम्बन्धित बैंकहरूले मुख्य बैंकिङ कारोबार र मोबाइल बैंकिङ सेवा भने सञ्चालनमै रहेको जनाएका छन्। यद्यपि, पीएचपीसँग सम्बन्धित सुरक्षा जोखिम नियन्त्रणमा नआएसम्म केही वेबमा आधारित सेवाहरू बन्द रहने बताइएको छ।

पीएचपी वेबसाइट र वेब एप्लिकेसन निर्माणमा विश्वभर व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा हो। यसमा देखिएको सुरक्षा कमजोरीको गलत प्रयोग भएमा सर्भरमा अनधिकृत पहुँच स्थापित गर्ने वा हानिकारक कमान्ड सञ्चालन गर्ने जोखिम हुन सक्छ। यस्तो जोखिमले संस्थाका सूचना प्रणाली र ग्राहकको संवेदनशील विवरणमा असर पार्न सक्ने भएकाले समयमै सुरक्षा उपाय अपनाउनु आवश्यक हुन्छ।

सम्भावित जोखिम न्यूनीकरण गर्न सम्बन्धित प्रणालीमा आवश्यक सुरक्षा अद्यावधिक र परीक्षण पूरा गरेपछि मात्रै प्रभावित सेवाहरू पुनः सञ्चालनमा ल्याउने तयारी गरिएको छ।