निर्वाचन आयोगले अद्यावधिक गर्‍यो कांग्रेसको नयाँ कार्यसमिति र संशोधित विधान

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमिति र संशोधित विधानलाई आफ्नो अभिलेखमा अद्यावधिक गरेको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले पार्टीको गगन थापा नेतृत्वको नयाँ कार्यसमिति र विधान अद्यावधिक गरिएको जानकारीसहितको पत्र कांग्रेसलाई पठाइएको बताएका छन्।

गत असोज १८ देखि २३ गतेसम्म काठमाडौँमा सम्पन्न कांग्रेसको १५औँ महाधिवेशनले गगनकुमार थापालाई सभापतिमा निर्वाचित गरेको थियो। त्यस्तै, वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, उपसभापतिमा चन्द्रकान्त भण्डारी, मधु आचार्य र विनोदकुमार चौधरी निर्वाचित भएका थिए।

यसैगरी, महामन्त्रीमा प्रदीप पौडेल, डिला पन्त सङ्ग्रौला र उदयशमशेर राणा निर्वाचित भएका थिए।

कांग्रेस महामन्त्री प्रदीप पौडेलले निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको विवरण, संशोधित विधान, राजनीतिक दस्ताबेज र महाधिवेशनबाट पारित निर्णयहरू अभिलेखमा अद्यावधिक गर्न गत कात्तिक १६ गते निर्वाचन आयोगमा निवेदन दिएका थिए।

पार्टीको निवेदनमाथि आवश्यक प्रक्रिया पूरा गरेपछि आयोगले नयाँ कार्यसमिति र संशोधित विधानलाई आधिकारिक अभिलेखमा समावेश गरेको हो। यससँगै कांग्रेसको १५औँ महाधिवेशनबाट भएका सांगठनिक परिवर्तनले निर्वाचन आयोगको अभिलेखमा औपचारिक मान्यता पाएको छ।