काठमाडौँ । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणको उपाधि जितेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज भएको फाइनलमा लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिम पहिलोपटक च्याम्पियन बनेको हो।
लुम्बिनीले दिएको १५६ रनको लक्ष्य सुदूरपश्चिमले १३.३ ओभरमै कुनै विकेट नगुमाई पूरा गर्यो। सुदूरपश्चिमको जितमा जर्ज मन्सीले विस्फोटक ब्याटिङ गर्दै अविजित १२५ रन बनाए। उनले ५४ बलमा आठ चौका र १२ छक्का प्रहार गरे। विनोद भण्डारीले अविजित ३० रनको योगदान दिए। दुवैबीच पहिलो विकेटका लागि १५८ रनको अविजित साझेदारी भयो।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा छ विकेट गुमाएर १५५ रन बनाएको थियो। उसका लागि दिलीप नाथले अविजित ३९, कप्तान रोहितकुमार पौडेलले ३० तथा निरोशन डिक्वेलाले २८ रन बनाए। सुदूरपश्चिमका स्कट कुगेलेइनले दुई विकेट लिए।
लगातार पहिलो र दोस्रो संस्करणमा फाइनल पुगेर उपविजेतामा सीमित भएको सुदूरपश्चिमले तेस्रो प्रयासमा उपाधि जित्दै इतिहास बनाएको हो। अघिल्लो संस्करणमा लुम्बिनीले नै सुदूरपश्चिमलाई हराएर उपाधि जितेको थियो।
लिग चरणमा १० अङ्कसहित दोस्रो भएको सुदूरपश्चिम पहिलो क्वालिफायरमा लुम्बिनीसँग पराजित भए पनि दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई हराउँदै फाइनल पुगेको थियो। लिग चरणमा ११ अङ्कसहित शीर्ष स्थानमा रहेको लुम्बिनीले भने पहिलो क्वालिफायर जित्दै सिधै फाइनलमा स्थान बनाएको थियो।
प्रतियोगितामा काठमाडौं गोर्खाज तेस्रो र चितवन राइनोज चौथो भए। विराटनगर किङ्स पाँचौँ, कर्णाली याक्स छैटौँ, पोखरा एभेन्जर्स सातौँ र जनकपुर बोल्ट्स आठौँ स्थानमा रहे।


Add Comment