काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति संस्थाको भूमिकामाथि प्रश्न उठाउँदै राष्ट्रपतिबाटै लोकतन्त्र कमजोर पार्ने काम भएको आरोप लगाएका छन्। प्रतिनिधिसभा विघटनको प्रसङ्ग उठाउँदै उनले तत्कालीन सरकारको सिफारिसमा राष्ट्रपतिले असंवैधानिक रूपमा संसद् विघटन गरेको टिप्पणी गरेका हुन्।
शनिबार काठमाडौंमा एमालेको ‘नेसनल भोलेन्टियर फोर्स’ को पहिलो स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै ओलीले प्रधानन्यायाधीश भइसकेका व्यक्तिको नेतृत्वमा बनेको सरकारको सिफारिसमा राष्ट्रपतिले डराएर प्रतिनिधिसभा विघटन गरेको आरोप लगाए।
प्रतिनिधिसभा विघटनविरुद्ध अदालतमा मुद्दा दर्ता भए पनि लामो समयसम्म फैसला नगरी अदालत मौन बसेको उनको टिप्पणी थियो। उक्त मुद्दामा अदालतले जस्तोसुकै फैसला गरे पनि एमालेले स्वीकार गर्ने उनले बताए।
ओलीले लोकतान्त्रिक संस्थाहरू संवैधानिक व्यवस्थाअनुसार सञ्चालन हुन नसकेको दाबी गरे। वर्तमान सरकार गठनको प्रक्रिया नै असंवैधानिक र अलोकतान्त्रिक रहेको उल्लेख गर्दै उनले यसको सुरुआत आतङ्कपूर्ण गतिविधि, आगजनी र तोडफोडबाट भएको आरोप लगाए।
देशमा कुनै पनि प्रकारका बेथिति हुन नदिन एमालेले खबरदारी गर्ने बताउँदै उनले बेथिति रोक्न पार्टी प्रतिबद्ध रहेको स्पष्ट पारे।
नेसनल भोलेन्टियर फोर्स गठनको उद्देश्यबारे बोल्दै ओलीले यो संगठन कसैको रहर पूरा गर्न नभई देशको विकट परिस्थितिमा तत्कालीन र दीर्घकालीन चुनौतीको प्रतिवाद गर्न स्थापना गरिएको बताए।
उनले स्वयंसेवकहरूलाई विकास निर्माण र उद्यमशीलतामा उदाहरणीय काम गर्दै अघि बढ्न निर्देशन दिए। जनता र देशलाई अप्ठ्यारो परेको अवस्थामा सहयोगका लागि अग्रपङ्क्तिमा उभिन पनि उनले फोर्सका सदस्यहरूलाई आग्रह गरे।


Add Comment