रास्वपा सचेतक परियारको आक्रोश, पुलिस स्टेट बन्द गर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले समाचारको विषयलाई लिएर पत्रकारलाई पक्राउ गरिएको घटनाप्रति कडा आपत्ति जनाएका छन्। उनले शुक्रबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत पत्रकार पक्राउको विरोध गर्दै प्रहरीको कार्यशैलीमाथि प्रश्न उठाएका हुन्।

‘पुलिस स्टेट बन्द गर’, परियारले फेसबुकमा लेखेका छन्। उनले समाचारको विषयलाई लिएर समाचार कक्षमै पुगेर पत्रकार पक्राउ गर्ने, धरपकड गर्ने र नियन्त्रणमा लिने प्रयासको घोर भर्त्सना गरेका छन्।

परियारले संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रताको संरक्षण र संवर्द्धन गर्नुपर्ने दायित्व राज्यका निकायको रहेको उल्लेख गर्दै प्रहरीको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

‘संविधानमै सुनिश्चित गरिएको प्रेस स्वतन्त्रताको संरक्षण र संवर्द्धन गर्ने दायित्व रहेको राज्यको शक्तिशाली संगठन प्रहरीको शैली पुलिस स्टेट यानी प्रहरी राज उन्मुख देखियो’, उनले लेखेका छन्।

पत्रकार पक्राउको घटनाले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र राज्यका निकायको जवाफदेहिताबारे पुनः बहस सिर्जना गरेको छ। समाचारप्रति असहमति वा गुनासो भए कानुनी प्रक्रियाबाट समाधान खोजिनुपर्ने भन्दै पत्रकारिता क्षेत्रबाट समेत विरोध भइरहेको छ।

लोकतान्त्रिक व्यवस्थामा स्वतन्त्र प्रेसले राज्यका गतिविधिमाथि निगरानी राख्ने र नागरिकलाई सुसूचित गर्ने भूमिका निर्वाह गर्छ। त्यसैले पत्रकारमाथि हुने धरपकड र पक्राउका घटनाले प्रेस स्वतन्त्रताको अभ्यासमा पार्न सक्ने प्रभावबारे गम्भीर बहस आवश्यक देखिएको छ।