काठमाडौं । भारतीय युवा अभियन्ता सौरभ दासलाई बेलायत जानबाट रोकिएको घटनाले नेपाल र भारत दुवै देशको राजनीतिक वृत्तमा चर्चा पाएको छ। भारतको विपक्षी दल तृणमूल कांग्रेसकी सांसद महुआ मोइत्राले यस प्रकरणमा नेपालका प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन० लाई नै सम्बोधन गरेपछि भारतीय आन्तरिक राजनीतिक विवादमा नेपालको प्रधानमन्त्रीसमेत जोडिएका हुन्।
भारतीय सांसद मोइत्राले सामाजिक सञ्जाल एक्समार्फत प्रधानमन्त्री बालेन शाहलाई मेन्सन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उनको निकटता बढिरहेको समयमा भारतमा भने नेपाली मूलकी आमाबाट जन्मिएका युवा अभियन्तालाई विदेश जानबाट रोकिएको आरोप लगाएकी छन्।
मोइत्राले लेखेकी छन्, ‘प्रिय बालेन शाह, हाम्रा प्रधानमन्त्री तपाईंसँग निकटता बढाइरहेका छन्। अर्कोतर्फ, जेनजी अभियन्ता सौरभ दासलाई अक्सफोर्ड युनियनमा बोल्न जानबाट रोकिएको छ, किनभने उनकी आमा नेपाली मूलकी हुन्। तपाईं युवा आन्दोलनको बलमा प्रधानमन्त्री बन्नुभयो। हाम्रा प्रधानमन्त्रीले युवाहरूसँग कस्तो व्यवहार गर्छन्, हेर्नुहोस्।’
मोइत्राको यो अभिव्यक्तिले सौरभ दासको व्यक्तिगत समस्या मात्र नभई भारत सरकारको व्यवहार र नेपाल–भारत राजनीतिक सम्बन्धलाई समेत बहसमा ल्याएको छ।
के हो सौरभ दास प्रकरण ?
भारतको ‘ककरोच जनता पार्टी’ का सहसंयोजक तथा प्रमुख प्रवक्ता सौरभ दासलाई नोभेम्बर २३ को राति दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट लन्डन जान रोकिएको थियो।
दासले सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै आफूलाई लन्डन उड्न नदिइएको बताएका थिए। उनी डिसेम्बर १ मा अक्सफोर्ड युनियनमा हुने कार्यक्रममा सहभागी हुन बेलायत जान लागेका थिए। त्यसबाहेक क्याम्ब्रिज विश्वविद्यालय, लन्डन स्कुल अफ इकोनोमिक्स ९एलएसई० र एडिनबर्गमा पनि कार्यक्रममा सहभागी हुने निमन्त्रणा पाएको उनको दाबी छ। उनले आफ्नो विदेश यात्रा रोकिएको घटनालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारसँग जोड्दै आलोचना गरेका छन्।
नेपाली मूलको पारिवारिक पृष्ठभूमि विवादको केन्द्रमा
सौरभ दासको विदेश यात्रा रोकिएको विषयमा उनको पारिवारिक पृष्ठभूमि पनि विवादमा आएको छ। उनकी आमा नेपाली मूलकी भएको विषयलाई भारतीय सांसद महुआ मोइत्राले उठाएकी छन्।
यसअघि नै एक भारतीय व्यवसायी गणेश कुमारले मद्रास उच्च अदालतमा दास र उनका अभिभावकको पारिवारिक पृष्ठभूमि तथा नागरिकतासम्बन्धी विवरणको विस्तृत अनुसन्धान गर्न माग गर्दै निवेदन दिएका थिए। उक्त निवेदनमा दासका पुर्खाको नेपालसँग कथित सम्बन्ध रहेको विषयसमेत उठाइएको छ।
त्यस्तै, भारतीय सञ्चारमाध्यमका अनुसार दासको पासपोर्टमा उल्लेखित जन्मस्थान र अन्य परिचयपत्रका विवरणमा विसंगति देखिएको भन्दै चेन्नईस्थित क्षेत्रीय पासपोर्ट कार्यालयले स्पष्टीकरण मागेको छ। यही प्रशासनिक प्रक्रियाका कारण उनको विदेश यात्रा रोकिएको हुन सक्ने भारतीय सञ्चारमाध्यमले सरकारी स्रोतलाई उद्धृत गर्दै जनाएका छन्।
तर नेपाली मूलकी आमा भएकै कारण उनलाई विदेश जान रोकिएको भन्ने मोइत्राको आरोपको स्वतन्त्र पुष्टि भएको छैन। भारतीय सरकारी निकायको औपचारिक स्पष्टीकरण पनि सार्वजनिक भइसकेको छैन।
बालेन किन जोडिए ?
प्रधानमन्त्री बालेन शाह भारतको दुईदिने भ्रमण सकेर नेपाल फर्किएको भोलिपल्टै यो प्रकरण सार्वजनिक भएको हो। भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता र दुई देशबीचको सम्बन्ध सुधारको चर्चा भइरहेका बेला भारतीय सांसदले बालेनलाई नै सम्बोधन गरेर आफ्नो सरकारको आलोचना गरेकी हुन्।
मोइत्राले बालेनलाई सम्बोधन गर्नुको राजनीतिक अर्थ पनि छ। उनी स्वयं युवा आन्दोलनको पृष्ठभूमिबाट राजनीतिमा उदाएका नेता हुन्। त्यसैले भारतमा युवा अभियन्तामाथि सरकारले गरेको भनिएको व्यवहारबारे नेपालको युवा आन्दोलनबाट उदाएका प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउनु मोइत्राको राजनीतिक सन्देश देखिन्छ।
तर सौरभ दास भारतीय नागरिक हुन् र उनलाई विदेश यात्रा गर्न रोकिएको भनिएको घटना भारतको आन्तरिक प्रशासनिक विषय हो। यसमा नेपाल सरकारको प्रत्यक्ष संलग्नता वा अधिकार क्षेत्र रहेको देखिँदैन। प्रधानमन्त्री बालेन शाहले भने यस प्रकरणमा अहिलेसम्म सार्वजनिक प्रतिक्रिया दिएका छैनन्।
कूटनीतिक सम्बन्धमा नयाँ प्रश्न
भारतको आन्तरिक राजनीतिक विवादमा नेपालको प्रधानमन्त्रीलाई प्रत्यक्ष रूपमा जोडेर प्रश्न उठाइनुले केही कूटनीतिक प्रश्नसमेत जन्माएको छ। विशेषगरी नेपाल र भारतबीच उच्चस्तरीय राजनीतिक संवाद भइरहेका बेला तेस्रो पक्षको आन्तरिक विवादमा नेपाली प्रधानमन्त्रीलाई सम्बोधन गर्नु सामान्य राजनीतिक टिप्पणीभन्दा केही फरक देखिएको छ।
एकातिर मोइत्राले बालेनको युवा आन्दोलनबाट उदाएको राजनीतिक पृष्ठभूमिलाई स्मरण गराउँदै भारतीय सरकारको आलोचना गरेकी छन् भने अर्कोतर्फ यसले नेपालका प्रधानमन्त्रीलाई भारतको आन्तरिक राजनीतिक बहसमा तान्ने काम गरेको छ।


Add Comment