काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा बयान दिन सिंहदरबार पुगेका छन् । प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिसमक्ष बयान दिन जबरा सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक कक्षमा पुगेका हुन् ।
गत बुधबारको बैठकमा महाभियोग लागेका जबरालाई बयानका लागि समितिले बोलाएको थियो । समिति सभापतिको रूपमा काम गरिरहेका समितिका ज्येष्ठ सदस्य रामबहादुर विष्टले समितिले महाभियोगका विषयमा आफ्ना धारणा राख्नका लागि जबरालाई बोलाउने निर्णय गरिएको जानकारी दिए ।
बुधबार बिहान ११ बजेका लागि समितिको बैठक बताइएको हो । यसबीचमा पूर्वन्यायाधीश फोरम,नेपाल बारलगायतका संस्थाहरूले जबराविरुद्धका प्रमाण समितिलाई बुझाएका थिए । समितिले गत शुक्रबार गोरखापत्रमा सूचना प्रकाशित गरी ३ दिनभित्र प्रमाण, कागजात र जानकारी पठाउन आग्रह पनि गरेको थियो।
प्रधानन्यायाधीश जबराविरुद्ध २०७८ फागुन १ मा प्रतिनिधिसभामा महाभियोग दर्ता भएको थियो । सोही दिनदेखि उनी निलम्बनमा परेका थिए । गत फागुन २२ मा गठन भएको महाभियोग सिफारिस समितिले २०७९ भदौ १ गतेदेखि काम थालेको थियो ।
Add Comment