काठमाडौं । नेपाल राष्ट्र बैंकले भदौ २६ देखि दसैँ, तिहार र छठका लागि बैंक तथा वित्तीय संस्थाहरूलाई नयाँ नोट सटही सुविधा प्रदान गर्ने भएको छ । सर्वसाधारणलाई भने २९ गतेदेखि नयाँ नोटको सटही सुविधा दिने आन्तरिक तयारी गरिएको मुद्रा व्यवस्थापन विभाग प्रमुख रेवतीप्रसाद नेपालले जानकारी दिएका छन् ।
गत वर्ष जस्तै यो वर्ष पनि सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ बराबर नयाँ नोट सटही सुविधा पाउने छन् । यो ५ देखि १ सय रुपैयाँसम्मको एक र एक वटा बन्डल हो ।
राष्ट्र बैंकसँग पर्याप्त नोट स्टकमा रहेको र नागरिकको माग पनि सम्बोधन गर्नुपर्ने भएकाले भदौ अन्तिम सातादेखि सहज तरिकाले नयाँ नोट वितरणको वातावरण मिलाइने राष्ट्र बैंकको भनाइ छ ।
बैंक तथा वित्तीय संस्थालाई भने राष्ट्र बैंकले २ देखि ५ करोड रुपैयाँसम्म नयाँ नोट सटही सुविधा दिने भएको छ । चालु आर्थिक वर्षभरि नै राष्ट्र बैंकले आफ्ना कार्यालयहरु र बैंक तथा वित्तीय संस्थामार्फत नयाँ नोट वितरण गरिरहेको छ । यद्यपि दसैँ, तिहार र छठका लागि सर्वसाधारणबाट नयाँ नोटको माग धेरै आउने गरेको छ ।
Add Comment