दसैंका लागि हवाई टिकट ८० प्रतिशत अग्रिम बुकिङ

काठमाडौँ । आन्तरिक हवाई उडान गर्दै आएका हवाई सेवा प्रदायक कम्पनीले दसैंका लागि मात्रै ८० प्रतिशत अग्रिम टिकट बुकिङ भएको जानकारी गराएको छ । आन्तरिक हवाई सेवा प्रदायक कम्पनीले दसैँका लागि हवाई टिकट बुकिङ खुला गरेसँगै अहिलेसम्म ८० प्रतिशत टिकट बुकिङ भएको जानकारी दिएको छ ।

सबैभन्दा बढी श्री एयरलाइन्सले ८० प्रतिशत टिकट बुकिङ गरिसकेको कम्पनीका प्रवक्ता अनिल मानन्धरले जानकारी दिए । यसैगरी बुद्ध एयरको हालसम्म ४० प्रतिशत अग्रिम बुकिङ गरेको छ भने यती एयरलाइन्सले ७० प्रतिशत, गुण एयरलाइन्सले ८० प्रतिशत बुकिङ गरेको जनाएका छन् ।

हवाई सेवाको अग्रिम टिकट बुकिङ सँगसँगै आन्तरिक हवाई सेवा प्रदायक कम्पनीले टिकट भाडामा पनि वृद्धि गरेका छन् । विगतमा काठमाडौँ–धनगढी हवाई भाडा ७ हजार ५ सय रहेकामा अहिले अधिकतम १७ हजार कायम गरिएको छ ।

अग्रिम टिकट बुकिङसँगै हवाई भाडामा पनि उकालो लागेको गुण एयरलाइन्सका प्रवक्ता प्रज्वल थापाले बताए । उनका अनुसार काठमाडौँ फर्कनका लागि टिकाको भोलिपल्टदेखिका लागि पनि ७० प्रतिशत टिकट अग्रिम बुकिङ भइसकेको छ । सबैभन्दा कम टिकटको मूल्य विराटनगर–काठमाडौँ रहेको छ । विराटनगर–काठमाडौँ एकतर्फी भाडा न्यूनतम रु ४ हजार ५ सय अधिकतम भाडादर १० हजार कायम गरिएको छ ।