काठमाडौँ । यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फको दुवै मतगणनाको काम सकिएको छ । गणनाको नतिजाअनुसार ७ वटा राजनीतिक दल आयोगले तोकेको थ्रेसहोल्ड पार गर्दै राष्ट्रिय दल बन्न सफल भएका छन् ।
निर्वाचन आयोगका अनुसार मतगणना सकिएसँगै थ्रेसहोल्ड कटाएर सात वटा राजनीतिक दल राष्ट्रिय दल बनेका हुन् । अन्तिम मत परिणामअनुसार ७ वटा दलले कुल सदर मतको ३ प्रतिशत थ्रेसहोल्ड कटाएका छन् । थ्रेसहोल्ड कटाउन ३ लाख १६ हजार ८ सय २ मत ल्याउनु पर्ने आयोगको भनाइ छ ।
नेकपा (एमाले) बाट अलग भएर नकपा एकीकृत समाजवादी दल बनाएको अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको दल प्रत्यक्ष तर्फ १० सिटमा विजय निकाले पनि थ्रेसहोल्ड कटाउन सकेन । सो दलले २ लाख ९८ हजार ३ सय ९१ मत प्राप्त गरेको छ । आयोगका अनुसार राष्ट्रिय दल बन्न १८ हजार ४ सय ११ मत सो दललाई अपुग भएको छ ।
राष्ट्रिय दल बनेका दलले पाएको मत
निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ करिव १ करोड १० लाख मत खसेकोमा १ करोड ५ लाख ६० हजार ६७ मत सदर भएको छ । जसमा थ्रेसहोल्ड कटाउने सात राजनीतिक दलले प्राप्त गरेको मत ९२ लाख ७१ हजार ७ सय ११ छ । ती मत समनुपातिकतर्फको १ सय १० सिट बाडफाँटमा भाग लगाइने छ । थ्रेसहोल्ड नकटाउने ४० दलले प्राप्त गरेको १२ प्रतिशत अर्थात १२ लाख ८८ हजार ३ सय ५६ मत खेर गएको छ ।
नेकपा एकीकृत समाजवादीले प्राप्त गरेको २ लाख ९८ हजार ३ सय ९१ मत पनि खेर गएको छ । त्यस्तै, थ्रेसहोल्ड नकटाउने अन्य ४० दलले प्राप्त गरेका मत पनि खेर गएको छ ।
दोस्रोमा नेपाली कांग्रेसले २९ प्रतिशत मत प्राप्त गरेको छ । सो दलले ३२ सिट प्राप्त गर्ने देखिएको छ । कांग्रेसले २७ लाख १५ हजार २२५ मत प्राप्त गरेको छ । सोहीअनुसार तेस्रोमा नेकपा (माओवादी केन्द्र) ले १२ प्रतिशत मत प्राप्त गरेर १४ सिट पाउने भएको छ । सो दलले समानुपातिक तर्फ ११ लाख ७५ हजार ६ सय ८४ मत पाएको छ । चौथोमा घण्टी चुनाव चिन्ह भएको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि थ्रेसहोल्ड कटाएको छ । सो दलले १२ प्रतिशत मत प्राप्त गर्दै १३ सिट प्राप्त गर्नेभएको छ । सो दलले ११ लाख ३० हजार ३ सय ४० मत प्राप्त गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले ६ प्रतिशत मत प्राप्त गरेको छ । त्यसले ७ सिट पाउने भएको छ । सो दलले ५ लाख ८८ हजार ८ सय ४९ मत पाएको छ । जनता समाजवादी पार्टीले ४ प्रतिशत मत प्राप्त गरेको छ । त्यसले ५ सिट पाउने छ । सो दलले ४ लाख २१ हजार ३ सय १४ मत पाएको छ । जनमत पार्टीले ४ प्रतिशत मत प्राप्त गरेर समानुपातिक तर्फ ५ सिट प्राप्त गर्ने भएको छ । जनमतले ३ लाख ९४ हजार ६ सय ५५ मत पाएको छ । निर्वाचन आयोगले अन्तिम हिसाव निकालेपछि एक दुई सिट तलमाथि हुनसक्ने प्रवक्ता अर्यालले बताए ।
प्रतिनिधि सभामा २ सय ७५ जनामध्ये १ सय ६५ जना यसअघि नै प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित भएका छन् । समानुपातिक तर्फ अब १ सय १० जनाले दलहरुले आयोगमा पेश गरेको बन्दसूचीका आधारमा चुनिनेछन् । आयोगले २६ गते भित्र सबै परिणामसहितको प्रतिवेदन राष्ट्रपति कार्यालयलाई बुझाइसक्ने बताएको छ ।
आयोगको नतिजा अनुसार सबैभन्दा बढी नेकपा (एमाले) ले थ्रेसहोल्ड कटाउने सात दलको मत जोडेर आउने हिसावको ३० प्रतिशत मत प्राप्त गरेको छ । सो दलले समानुपातिक तर्फ ३४ सिट पाउने भएको छ । एमालेले प्राप्त गरेको मत २८ लाख ४५ हजार ६ सय ४१ रहेको छ ।
Add Comment